धरान उपमहानगरपालिका कार्यालयमा मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रविक्रम बेघाका समर्थकहरूबीचको विवाद तनावमा परिणत भएको छ। सोमबारदेखि नै शुरु भएको विवाद मंगलबार झनै चर्किएको छ।
धरान–१७ का वडाध्यक्ष एवं उपमहानगरका प्रवक्ता सूर्य भट्टराईका अनुसार मेयर समर्थकहरूले उपमेयरमाथि आक्रमणको प्रयास गरेका थिए, जसपछि उपमेयर पक्षका माओवादी कार्यकर्ताहरू पनि ठूलो संख्यामा कार्यालय परिसरमा भेला भएर नाराबाजी गरेका थिए।
घटना धरान–१६ स्थित बहुभाषिक विद्यालयमा श्रमदानबाट निर्माण गरिएको ग्याबिन जालीसँग जोडिएको छ। मेयर साम्पाङको नेतृत्वमा केही महिना अघि नै उक्त कार्य श्रमदानबाट सम्पन्न भइसकेको भए पनि, पछि योजना पुनः मूल्याङ्कन (री–इस्टिमेट) गरेर धरान–१६ बाहिरका व्यक्तिहरू राखी उपभोक्ता समिति बनाई नगरमा बिल पेस गरिएको थियो।
तर, उपमेयर बेघाले पहिले नै सम्पन्न भएको श्रमदान कार्यको लागि नगरबाट भुक्तानी दिन नमिल्ने भन्दै फाइल रोकिदिएपछि विवाद चर्किएको हो। उपमेयरको निर्णयसँग असन्तुष्ट मेयर साम्पाङले आफ्ना समर्थकहरूलाई कार्यालयमा जुट्न सार्वजनिक आह्वान गरेका थिए।
धरान–१६ का वडाध्यक्ष मुरारी भट्टराईका अनुसार मेयरले आफूनिकट व्यक्तिहरूलाई उपभोक्ता समितिमा राखेर आर्थिक फाइदा लिन खोजेका हुन्। समितिको संयोजकसमेत धरान–१४ का र रहेका मेयर समर्थक भएको भट्टराईको दाबी छ।
श्रमदानमा सहभागी भएकाहरूलाई मजदुरको रूपमा डोर हाजिरी गरिएको भेटिएपछि उपमेयरले कार्यको निरीक्षण गर्न अस्वीकार गर्दै रकम भुक्तानी रोक्ने निर्णय गरेका थिए।
‘पहिले नै श्रमदानबाट सकिएको काममा पछि समिति बनाई बिल पेश गर्नु गैरकानुनी हो,’ उपमेयर बेघाले भने, ‘यही विषयमा मैले विरोध जनाएपछि मेयरले बदला लिने शैलीमा समर्थक उतारिरहनुभएको छ।’
तर, मेयर साम्पाङ भने श्रमदानको पनि मूल्य निर्धारण गरेर नगरबाटै भुक्तानी हुनुपर्ने पक्षमा छन्। मंगलबार पत्रकार सम्मेलन गर्दै उनले आफू जनताबाट निर्वाचित भएको जनप्रतिनिधि भएकाले नगर सञ्चालनको अधिकार आफूलाई भएको दाबी गरे।
‘जनताको आदेशमा काम गर्छु, म धरानको लिडर हुँ,’ उनले भने, ‘जनताभन्दा ठूलो कोही हुँदैन।’