• २०८३ असार ३०
  • 2026 July 14, Tuesday

प्रधानमन्त्री ओलीले स्मरण गरे दैलेखमा पेट्रोलियम अन्वेषण सुरु गर्दाका दिनहरू

प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको पेट्रोलियम खानीमा हालै देखिएको प्रगतिप्रति खुशी व्यक्त गरेका छन्। उनले आफू पहिलोपटक प्रधानमन्त्री भएको बेला उक्त क्षेत्रमा सम्भाव्यता अध्ययन सुरु गराएको स्मरण गरे।

चिनियाँ विशेषज्ञ टोलीद्वारा प्रस्तुत प्रारम्भिक प्रतिवेदनअनुसार दैलेखको जलजले क्षेत्रमा अनुमानित ११२ अर्ब घनमिटर मिथेन ग्यासको भण्डार फेला परेको समाचार बाहिर आएको छ। विज्ञहरूका अनुसार, यो परिमाणको ग्यास नेपाललाई करिब ५० वर्षसम्म पर्याप्त हुन सक्ने अनुमान गरिएको छ।

२०७२ सालको चैत महिनामा ओलीको चीन भ्रमणका क्रममा नेपाल–चीनबीच पेट्रोलियम अन्वेषणका लागि सरकारी तहमा सम्झौता (जीटुजी) भएको थियो। त्यसपछि २०७५ माघमा चीनलाई दैलेखको विस्तृत अन्वेषणको जिम्मा दिइएको हो।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत विगतमा अन्वेषण सुरु गर्दा सामना गर्नुपरेका समर्थन र विरोधका स्वरहरू सम्झँदै, हालको प्रगतिलाई खुशीको समाचार भनेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा खुसी हुँदै शुक्रबार बिहान उनले लेखका छन्, ‘पेट्रोलियम पदार्थको अन्वेषण सुरु गर्दाका दिनहरू सम्झिरहेको छु । समर्थन र विरोध–आवाज थरिथरिका थिए । ११२ अर्ब घनमिटर ग्यास रहेको खबरले ती दिनलाई सम्झाएको छ । यो खुसीको समाचार हो ।’