नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले बजेटमा ‘टेक एण्ड पे’ शब्द हटाइएपछि त्यसप्रति निजी ऊर्जा उत्पादकहरू आत्तिनु नपर्ने बताएका छन्। स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) चरणबद्ध आन्दोलनमा उत्रिएको बेला शाक्यले निजी क्षेत्रलाई आश्वस्त पार्ने प्रयास गरेका हुन्।
शनिबार बिहान केही पत्रकारसँगको अनौपचारिक छलफलमा शाक्यले भने, “टेक एण्ड पे” को विषयमा प्राधिकरणको पनि असहमति छ। उनले बजेट भाषणमा प्रयोग गरिएका शब्दप्रति असमझदारी सिर्जना भए पनि व्यवहारमा “टेक एण्ड पे” प्रणाली यथावत् रहेको स्पष्ट पारे।
शाक्यका अनुसार इप्पानले यो विषयमा प्रधानमन्त्रीदेखि आफूलाई समेत एसएमएस पठाएको बताए। साथै, बजेट भाषणको शब्द चयनले निजी उत्पादकहरूमा आशंका जन्मिएको तर नीतिगत परिवर्तन नभएको उनको दाबी छ।
शाक्यले भने–अहिले पनि टेक एण्ड पे व्यवहारमा छ,उत्पादन र विक्री अनि खपतको सुनिश्चितताको सन्दर्भमा यो आएको हो । बजेटको शब्द प्रयोगमा यो उल्लेख हुनुपथ्र्यो,अलि छोटो हुँदा उहाँहरुमा आशंका भयो । अब कार्यविधी र निर्देशिकामार्फत त्यसलाई सच्याउन हामीले पनि सरकारलाई सहजीकरण गछौं । तर त्यसअघि निजी क्षेत्रले पनि अब प्रसारण लाइनमा लगानी गर्ने प्रतिबद्धता व्यक्त गर्नुपर्छ । अब प्रसारण लाइन अर्थात ट्रान्समिसनमा निजी क्षेत्रको लगानी अनिवार्य नै छ,नत्र विद्युत उत्पादनमात्र गरेर त्यसको भण्डारण नहुने अवस्था आइसकेको छ ।
उनले देशभित्रको प्रसारण लाइन निर्माणमा अब निजी क्षेत्रको लगानी अपरिहार्य हुने स्पष्ट पारे। किनभने, विद्युत् प्राधिकरण एक्लैले उत्पादन गरेर सबै प्रसारण सम्भव नभएको उनले उल्लेख गरे। शाक्यले भने, “क्रस बोर्डर प्रसारण लाइनबाहेक, देशभित्रको प्रसारणमा निजी क्षेत्रको सहभागिता अनिवार्य छ।”
हालसम्मका धेरै प्रसारण योजनाहरू जंगल, बस्ती र बजेट अभावका कारण प्रभावित भएको भन्दै उनले निजी लगानीले ती अवरोध पार गर्न सक्ने बताए।
शाक्यले विद्युत् प्राधिकरणलाई दिइने सरकारी बजेट पनि घट्दै गएको उल्लेख गरे। केही वर्षअघिसम्म २१ अर्बसम्म बजेट दिइए पनि अहिले त्यो घटेर साढे ४ अर्बमा सीमित भएको उनले बताए। त्यसैले, संस्थाको सञ्चित नाफा बढाउनेतर्फ आफूले ध्यान केन्द्रित गरेको उल्लेख गरे।
अरुणमा वर्ल्ड बैंकको सहयोग कुरेर बसेर ढिलाइ भएको भन्दै उनले अब प्राधिकरणले आफ्नै क्षमतामा आयोजना अघि बढाउने बताए। भारतको अनुमति नआएसम्म विश्व बैंक लगानी नगर्ने भएकाले ‘चिलिमे मोडल’मा आफैं लगानी गर्न प्राधिकरण तयार भएको उनको भनाइ थियो।
‘टेक एण्ड पे’ सम्बन्धी प्रसंगमा उनले अबको प्राथमिकता ऊर्जा सुरक्षा, गुणस्तर र वित्तीय स्थायित्वमा केन्द्रित हुने बताए। यसका लागि पम्प स्टोरेज र जलाशययुक्त आयोजना निर्माणमा प्राधिकरणले लगानी बढाउने योजना रहेको उनले प्रस्ट पारे। रन अफ रिभर आयोजना मात्रै बनाउँदै आएको निजी क्षेत्र ती ठूला आयोजना बनाउन नसक्ने भएकाले ‘टेक एण्ड पे’ विषयमा देखिएको भ्रम चाँडै स्पष्ट हुने उनको विश्वास छ।