राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामासहित छानबिन समितिको माग गर्दै प्रतिनिधिसभाबाट बाहिरिएका छन्।
उनीहरूले संसदको वेल घेरेर विरोध जारी राखिरहेका थिए। सभामुखले बजेटमाथि छलफल अघि बढाएपछि करिब साढे दुई घण्टा उनीहरू उभिएरै विरोधमा उभिए। तर नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बोल्न थालेपछि उनीहरू बैठकबाट बाहिरिएका हुन्।
रास्वपाका सांसदहरू बाहिरिएको देखेपछि डा. महतले “लगातार उभिन गाह्रै हुन्छ” भन्दै व्यंग्यात्मक टिप्पणी पनि गरेका थिए। यसअघि वेलमा बसेर विरोध गर्दै आएका सांसदहरूले आलोचनापछि आजको बैठकमा उभिने रणनीति अपनाएका थिए।