• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

एमालेले किन बोलायो सचिवालय बैठक

काठमाडौं । नेकपा (एमाले)ले आउँदो विधान अधिवेशनको तयारीलाई तीव्रता दिन सचिवालय बैठक बोलाएको छ। पार्टीको सचिवालय बैठक बुधबार दिउँसो १ बजे च्यासलस्थित मुख्यालयमा बस्नेछ।

केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा विधान संशोधन प्रस्तावसहित राजनीतिक तथा सांगठनिक प्रस्ताव तयार गर्ने विषयमा गहन छलफल हुनेछ। उनले आवश्यक परे सचिवालयले स्वयं प्रस्ताव तयार गर्ने वा समिति गठन गर्ने विकल्प पनि खुला रहेको बताए।

गत माघ ८ गते बसेको बैठकले दोस्रो विधान अधिवेशन भदौ २०–२२ गते ललितपुरको सनराइज हलमा गर्ने निर्णय गरिसकेको छ। विधानअनुसार अधिवेशनको एक महिनाअघि नै संशोधन प्रस्ताव तल्लो कमिटीहरूमा पठाइसक्नुपर्ने नियम छ।

दसौं महाधिवेशनका प्रतिनिधिहरू नै विधान अधिवेशनमा सहभागी हुनेछन्। यसपटक पार्टीभित्र ७० वर्षे उमेरहद कायम गर्ने कि हटाउने भन्ने विषयमा बहस भइरहेको छ। साथै, कार्यकारी कमिटीमा लगातार दुई कार्यकालभन्दा बढी बस्न नमिल्ने प्रावधान समेत ल्याउने विषयमा पनि चर्चा छ।

पहिलो विधान अधिवेशनमा कार्यकालको सीमा नराखी केवल उमेरहदको व्यवस्था गरिएको थियो। सो प्रावधान २०८० साल जेठमा एमालेमा पुन: फर्किएका नेताहरूलाई जिम्मेवारी दिनका लागि स्थगित गरिएको थियो। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष युवराज ज्ञवालीलगायत नेताहरू भने उमेरहद कायम गर्नुपर्ने पक्षमा छन्।

उमेरहदकै कारण पूर्वनेता भरतमोहन अधिकारी र सिद्धिलाल सिंहजस्ता नेताहरूले सक्रिय राजनीतिबाट विश्राम लिएका थिए।