काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियालाई पदबाट निलम्बन गरी आवश्यक छानबिन गर्न माग गरिएको छ। मंगलबार युवराज सफलले प्रधानमन्त्री कार्यालयमा उजुरी दिंदै चौरसियाले न्याय प्रक्रियामा हस्तक्षेप गरेको गम्भीर आरोप लगाएका हुन्।
उजुरीमा सफलले मन्त्री चौरसियाले आफ्नो प्रभाव, शक्ति र पार्टीको पहुँच प्रयोग गरी बमकाण्ड, नरसंहार र हत्या अभियोगमा जन्मकैदको सजाय पाएका अफताब आलमलाई उच्च अदालतमार्फत सफाइ दिलाएको दाबी गरेका छन्। उनका अनुसार चौरसियाले होटलमा बसेर ‘सेटिङ’ मिलाएको र त्यसकै आधारमा आलमले सफाइ पाएको उल्लेख छ।
सफलले चौरसियाको होटलमा बसेको समयको सिसिटिभी फुटेज, तीन महिनाको सम्पर्क विवरण र अन्य प्रमाणहरू संकलन गरी गहिरो अनुसन्धान गर्न माग गरेका छन्। उनले चौरसियालाई पदबाट तत्काल हटाई, अपराधीलाई बचाउन योजनाबद्ध भूमिका खेलेको भन्दै कानुनी कारबाही गरी आजीवन कारावास हुनुपर्ने बताएका छन्।
यदि यो उजुरीमाथि कारबाही नभए प्रधानमन्त्री केपी शर्मा ओली नै जिम्मेवार हुने चेतावनी पनि सफलले दिएका छन्। उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले जेठ १४ गते अफताब आलमलाई सफाइ दिएको थियो।
