पर्यटकलाई नेपाल आउन सस्तो बनाऔं, खर्च गर्ने वातावरण सिर्जना गरौं

नेपालको पर्यटन विकासका लागि हाम्रो सोच र रणनीतिमा एउटा आधारभूत परिवर्तन आवश्यक छ। हामीले बुझ्नुपर्ने कुरा के हो भने, कुनै पनि पर्यटक आफ्नो यात्रामा एउटा निश्चित बजेट लिएर आउँछ। हाम्रो मुख्य लक्ष्य त्यो बजेटको सबैभन्दा ठूलो हिस्सा नेपालभित्रै कसरी खर्च गराउने भन्ने हुनुपर्छ। तर आजको अवस्था ठीक उल्टो छ। नेपालभित्र घुम्न, बस्न र खान महँगो छैन, तर नेपाल आउन नै यति महँगो भयो कि पर्यटक सुरुमै निरुत्साहित हुन्छ।

आज हाम्रो पर्यटनको सबैभन्दा ठूलो समस्या भनेको महँगो हवाई टिकट हो। एक पर्यटकले आफ्नो यात्रा बजेटको ठूलो हिस्सा हवाई टिकटमै खर्च गर्छ, र त्यो पैसा नेपालमा आउँदैन किनभने हाम्रो राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम अत्यन्तै कमजोर छ। पर्यटक कि कतार एयरवेजबाट आउँछ, कि इन्डियन एयरवेजबाट, जसको आम्दानी नेपालले पाउँदैन।

एसियाकै दुई देश, थाइल्याण्ड र भारतको उदाहरण हेरौं, त्यहाँ जान-आउन हवाई टिकट नेपालभन्दा धेरै सस्तो छ। हामीकहाँ उडानको फ्रिक्वेन्सी कम हुँदा टिकट स्वतः महँगो छ, त्यसमाथि हामीले दुई-तीन वर्षदेखि टिकटमा १३ प्रतिशत भ्याट लगाएका छौं। पर्यटन समितिमा रहेर हामीले यो विषय बारम्बार उठायौं र यस पटकको बजेटमा यो भ्याट हट्छ भन्ने आशा थियो, तर हटेन। जबसम्म नेपाल आउने यात्रा सस्तो र सहज हुँदैन, तबसम्म हामीले पर्यटकको संख्या बढाउन सक्दैनौं।

नेपाल वायुसेवा निगमको पुनर्संरचना अत्यावश्यक

नेपालको पर्यटनको भाग्य नेपाल वायुसेवा निगमको भविष्यसँग जोडिएको छ। पञ्चायतकालदेखि आजसम्म हामीले हेर्‍यौं, यो संस्था पूर्ण रूपमा अव्यवस्थित छ। अब यसलाई कर्पोरेसनबाट कम्पनी मोडलमा लगेर व्यावसायिक ढंगले चलाउन ढिला गर्नु हुँदैन। चाहे यसमा निजी क्षेत्रको व्यवस्थापन ल्याउने होस् वा पूर्ण निजीकरण गर्ने होस्, एउटा ठोस कदम चाल्नैपर्छ। जबसम्म राष्ट्रिय ध्वजावाहक बलियो हुँदैन, तबसम्म विदेशी एयरलाइन्सको महँगो टिकटको मारमा हाम्रो पर्यटन परिरहन्छ।

सरकारको काम पूर्वाधार बनाउने र नीतिगत सहजीकरण गर्ने हो। ‘वान विन्डो पोलिसी’को कुरा हुन्छ, तर व्यवहारमा ‘मल्टिपल विन्डो’ कायमै छ। तर, पर्यटकलाई कसरी आकर्षित गर्ने र भुलाउने भन्ने काम निजी क्षेत्र र उद्यमीहरूको हो। अब हामीले एभरेष्ट र अन्नपूर्ण जस्ता परम्परागत र अत्यधिक प्रयोग भएका गन्तव्यभन्दा बाहिर सोच्नुपर्छ।

काठमाडौं उपत्यका वरिपरि नै हामीले छोटो अवधिका (२-३ दिन) ट्रेकिङ र हाइकिङ प्याकेजहरू बनाउन सक्छौं। यो विशेषगरी आन्तरिक, भारतीय र चिनियाँ पर्यटकका लागि आकर्षक हुनसक्छ, जो धेरै साहसिक यात्रा गर्न चाहँदैनन् तर नेपालमा हाइकिङ गरेको ‘सेल्फी टुरिजम’को अनुभव लिन चाहन्छन्। यसका साथै, माउन्टेन बाइकिङको सम्भावना पनि प्रचुर छ। एउटा राम्रो माउन्टेन बाइकको मूल्य लाखौं पर्ने हुँदा यो ‘हुनेखाने’ वर्गको रुचि हो, जसको खर्च गर्ने क्षमता पनि बढी हुन्छ। पर्यटन व्यवसायीले यी क्षेत्रमा प्याकेज बनाएर लगानी गर्नुपर्छ।

बिहारको ‘ड्राइ स्टेट’ अवसर: सिमाना केन्द्रित पर्यटनको विकास

हामीले एउटा ठूलो अवसरलाई बेवास्ता गरिरहेका छौं, त्यो हो छिमेकी भारतको बिहार राज्य। बिहार अहिले ‘ड्राइ स्टेट’ हो, अर्थात् त्यहाँ मदिरा प्रतिबन्धित छ। छुट्टी मनाउन जाँदा रमाइलोका लागि मदिरा सेवन गर्नुलाई नकारात्मक रूपमा लिनु हुँदैन; यो विश्वव्यापी चलन हो। हामीले यही अवसरलाई सदुपयोग गर्न सक्छौं।

पूर्वी र मध्य नेपालका इलाम, धनकुटा, सिन्धुली, हेटौंडाजस्ता भारतीय सीमाबाट नजिक (करिब २ घण्टाको दूरीमा) रहेका महाभारत श्रृंखलाका क्षेत्रमा नयाँ पर्यटकीय पूर्वाधार विकास गर्न सकिन्छ। यसले गर्मी महिनामा पनि बिहारका पर्यटकलाई आकर्षित गर्न सक्छ। यसले काठमाडौं र उच्च हिमाली क्षेत्रमा मात्र केन्द्रित पर्यटनलाई विकेन्द्रीत गर्छ र स्थानीय सरकारलाई पनि विकासमा संलग्न गराउँछ। तसर्थ, म निजी क्षेत्रका उद्यमी मित्रहरूलाई यी नयाँ अवसरहरू पहिचान गरी आकर्षक प्याकेजहरू विकास गर्न अनुरोध गर्न चाहन्छु।

–हुलाक सञ्चारको चौथो वार्षिकोत्सवमा आयोजित हुलाक पथ ‘नेपालमा पर्यटनः सम्भावनाहरुको नयाँ युग’ विषयको विचार विमर्शमा प्रस्तुत गरेको विचारको सम्पादित अंश 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१