• २०८३ असार ३०
  • 2026 July 14, Tuesday

स्पेन भ्रमणमा जाँदै प्रधानमन्त्री ओली, को-को छन् भ्रमण टोलीमा?

काठमाडाैं ।  प्रधानमन्त्री केपी शर्मा ओली शनिबार स्पेन प्रस्थान गर्दै छन्। उनी स्पेनको सेभिल्लामा यही असार १६ देखि १९ गतेसम्म हुने ‘इन्टरनेशनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेशन्स् (एफएफडि–४)’ सम्मेलनमा सहभागी हुन लागेका हुन्।

प्रधानमन्त्री ओली राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको मैत्रीपूर्ण निमन्त्रणमा भ्रमणमा जान लागेका हुन्। शनिबार साँझ ६ बजे कतारको दोहा हुँदै मेड्रिडतर्फ प्रस्थान गर्ने कार्यक्रम छ।

विश्वभरका नेताहरू, अन्तर्राष्ट्रिय वित्तीय संस्था, व्यापारिक संगठन, व्यवसायी, नागरिक समाज र संयुक्त राष्ट्र प्रणालीका प्रतिनिधिहरू सहभागी हुने उक्त सम्मेलनमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन्। नेपालले सम्मेलनमा अल्पविकसित, साना तथा टापु राष्ट्रहरूको आवाज उठाउनेछ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले स्पेनका राजा फिलिप द्वितीयसँग शिष्टाचार भेट, प्रधानमन्त्री सान्चेजसँग द्विपक्षीय वार्ता तथा विभिन्न राष्ट्र प्रमुखहरूसँग साइडलाइन भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री ओली यही असार २० गते शुक्रबार साँझ ४:४५ बजे स्वदेश फर्कने तालिका छ।

२१ सदस्यीय नेपाली प्रतिनिधिमण्डलमा राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव अमृतबहादुर राई, अर्थ सचिव घनश्याम उपाध्याय, प्रधानमन्त्रीका निजी चिकित्सक डा. स्मृति शाक्यलगायत छन्। स्पेन र न्युयोर्कबाट ८ जना गरी कुल २९ जना नेपाली प्रतिनिधिमण्डल सम्मेलनमा सहभागी हुनेछन् ।

यस भ्रमणबाट नेपालमा विकसित मुलुकबाट लगानी वृद्धि हुनुका साथै युरोपेली पर्यटक आकर्षणमा टेवा पुग्ने विश्वास गरिएको छ।