निजामती विधेयक आज संसदमा पारित गर्ने तयारी, सभामुखको रास्वपा–राप्रपालाई छलफलमा सहभागिताको आग्रह

काठमाडौँ । प्रतिनिधि सभाको बैठक बस्नुअघि सभामुख देवराज घिमिरेले प्रमुख ५ दलका मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका छन् ।

संघीय निजामती विधेयक पेश एवं पारित गर्ने आजको सदनको प्रमुख कार्यसूची रहेको छ । छलफलको क्रममा सहमति र सहकार्यको माध्यमबाट संसदीय प्रक्रियामा सहभागी हुन रास्वपा र राप्रपालाई सभामुखले आग्रह गरेका छन् ।

घिमिरेले भने, ‘महत्त्वपूर्ण विधेयकमा संसदका प्रमुख दलहरू छुट्नु राम्रो भएन । निजामती, शिक्षाजस्ता संघीयतासँग जोडिएका विधेयकमाथिको छलफलमा सबै सहभागी हुने वातावरण बनाउन तपाईँहरूलाई अनुरोध गर्छु ।’

तर, दुई दलका सचेतकहरूले अडान कायमै राखेका छन् । भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्री लेखकको राजीनामाको मागसहित राप्रपा र रास्वपाले निरन्तर संसद बैठक अवरुद्ध गरिरहेका छन् । सरकारले पूर्वसचिव शंकरदास वैरागीको नेतृत्वमा बनाएको समिति पनि यी दलले अस्वीकार गरेका छन् ।