नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा सांसद जनार्दन शर्माले संघीय निजामती सेवा विधेयकमा छलफल गर्दै स्थायी कर्मचारीहरूको संख्या आधा घटाउने र सेवा करार प्रणालीमार्फत परिणाममुखी व्यवस्था ल्याउनुपर्ने धारणा राखेका छन्।
आइतबार प्रतिनिधिसभामा बोल्दै पूर्वमन्त्री शर्माले वर्तमान ढाँचामा सरकारको साधारण खर्च धान्नै नसकिने अवस्था आएको बताए। “भरिभराउ कर्मचारी संरचना अब टिकाउ छैन,” उनले भने, “अब स्थायी पदसंख्या कटौती गरी करार सेवाबाट नतिजामूलक कार्यप्रणालीमा जानुपर्छ।”
उनले कर्मचारी प्रणालीको भद्दा संरचनाले परिणाम नदिने अवस्था सिर्जना गरिरहेको उल्लेख गरे।
साथै, शर्माले कार्यकारी अधिकार प्रधानमन्त्रीमा निहित भए पनि देशमा वास्तविक शासन भने कर्मचारीको ‘टेबल–टेबल’ बाट भइरहेकामा आपत्ति जनाए। उनले कार्यकारी प्रमुखलाई केन्द्रमा राखेर शासन सञ्चालन हुने स्पष्ट र प्रभावकारी व्यवस्था आवश्यक रहेकोमा जोड दिए।