जिल्ला अदालत काठमाडौंबाट एक जना थुनुवा हतकडीसहित भागेको घटनाबारे प्रहरीले पुष्टि गरेको छ। आइतबार बयानका लागि अदालत पुर्याइएका पश्चिम रूकुमका २१ वर्षीय निराजंग ठकुरी (दशरथ शाही) फरार भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।
चोरी अभियोगमा जेठ ३० गते पक्राउ परेका शाहीमाथि प्रहरी वृत्त सोह्रखुट्टेबाट अनुसन्धान सम्पन्न गरी अदालतमा बयानका लागि ल्याइएको थियो।
तर, शौचालय जाने बहानामा उनी अदालत परिसरबाटै हतकडीसहित फरार भएका हुन्। एसपी बोहराका अनुसार हाल शाहीको खोजी तीव्र पारिएको छ। “उनी फरार भएका छन्, खोजी जारी छ,” उनले भने।