• २०८३ असार ३०
  • 2026 July 14, Tuesday

असार १५ मा पनि आएन शिक्षा विधेयक, शिक्षक फेरि हेरेको हेर्यौं

सरकार र शिक्षकबीचको सहमतिअनुसार असार १५ भित्र ल्याइने भनिएको विद्यालय शिक्षा विधेयक तोकिएको मितिमा पनि नआउँदा शिक्षकहरू निराश भएका छन्। गत वैशाख १७ गतेको आन्दोलनपछि नेपाल शिक्षक महासंघसँग सरकारले असार १५ भित्र विधेयक ल्याउने सहमति गरेको थियो। तर आज उक्त म्याद सकिँदै गर्दा विधेयक अझै संसदीय समितिमै छलफलको चरणमा छ।

शिक्षा समितिमा केही प्रमुख बुँदामा सहमति भए पनि विधेयक समग्र रूपमा टुंगो लाग्न सकेको छैन। यही कारण विधेयक संसदमा पेस हुन सकेन।

म्यादको अन्तिम दिन परेपछि महासंघको टोली सहअध्यक्ष नानुमाया पराजुलीको नेतृत्वमा बिहानै सिंहदरबारस्थित शिक्षा समितिमा पुगेर सांसदहरूलाई दबाब दिएको छ।

समितिको आज बिहानै बैठक बसेको छ, तर विधेयक जारी हुने सुनिश्चितता भने अहिले पनि बनेको छैन। शिक्षकमाझ  फेरि असन्तोष चुलिने सम्भावना देखिएको छ।