गायिका एलिन चौहानले सामाजिक सञ्जालमा हुने गालीगलौज र अभद्र व्यवहारविरुद्ध कडा कदम चाल्दै त्यसलाई रोक्न अभियान सुरु गरेकी छन्। उक्त अभियानलाई प्राथमिकता दिँदै उनले आफैंले तय गरेका १० दिनका कार्यक्रमहरू स्थगित गरी प्रहरीको साइबर ब्यूरोमा पुगेर उजुरी दिएकी हुन्।
गायिका समीक्षा अधिकारीसँग मिलेर एलिनले पछिल्ला केही दिनयता सामाजिक सञ्जालमा आपत्तिजनक कमेन्ट गर्ने व्यक्तिहरूको नाम र प्रोफाइल सार्वजनिक गर्दै अभियान चलाइरहेकी छन्। सुरुमा चार जनाविरुद्ध उजुरी दिंदै उनले भविष्यमा यस्ता दुर्व्यवहार गर्नेहरूलाई पनि कानुनी कारबाहीमा ल्याउने अठोट व्यक्त गरेकी छन्।
उनले चेतावनी दिँदा पनि नसुध्रिएको र झनै आक्रामक बनेर गालीगलौज गर्ने चारजनाविरुद्ध औपचारिक उजुरी दिइएको बताइन्। साथै, यस्ता मानिसहरूलाई सामाजिक रूपमा समेत उजागर गर्दै जाने अभियानलाई निरन्तरता दिने योजना रहेको उनले उल्लेख गरिन्।
प्रधानमन्त्री केपी शर्मा ओलीबाट ‘साहसी छोरीहरू’ भनी प्रशंसा पाएपछि आफू अझ आत्मविश्वासी बनेको र कानुनी प्रक्रियाले तीव्रता पाउने विश्वास पनि उनले व्यक्त गरिन्। यस अभियानमा अरू कलाकार तथा राजनीतिज्ञहरूले पनि समर्थन जनाएका छन्।