
काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानको स्तरोन्नति कार्य पुनः निर्धारित म्यादभित्र पनि सम्पन्न नहुने भएको छ।
बुधबार सहरी विकास मन्त्रालयले पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै मैदानको स्तरोन्नतिको काम आगामी आर्थिक वर्षसम्म लम्बिने जनाएको हो। आयोजनाका प्रमुख चक्रवर्ती कण्ठले पनि असार मसान्तभित्र काम सकिने सम्भावना नरहेको स्पष्ट पारे।
पहिलोपटक फागुन २१ गते सुरु भएको कार्य वैशाख २४ गतेभित्र सम्पन्न गर्ने योजना थियो। तर काम नसकिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले असार मसान्तसम्ममा काम सक्न निर्देशन दिँदै म्याद थपिएको थियो।
यद्यपि, प्राकृतिक अवरोध र प्राविधिक कारणले निर्माण कार्यमा ढिलाइ भएको बताइएको छ। फ्लडलाइटको आधार संरचना तयार भए पनि आवश्यक सामग्री नआएकाले काम अगाडि बढ्न सकेको छैन।
आयोजना प्रमुख कण्ठका अनुसार, प्यारापिट क्षेत्रमा करिब ७० प्रतिशत र फ्लडलाइट क्षेत्रमा ४० प्रतिशत मात्रै काम सम्पन्न भएको छ।
उनले ढिलाइको कारणको विश्लेषणपछि निर्माण कम्पनीलाई जरिवाना गराई आवश्यक भएमा म्याद थप गरिने बताए। यसअघि निर्माण कम्पनीले समयमा काम सम्पन्न गर्ने दाबी गरेको थियो।