
प्रतिनिधिसभाको आइतबारको बैठकमा नेकपा (माओवादी केन्द्र)की सांसद दुर्गा राईले सरकारका दुई मन्त्रीको अडियो प्रकरणबारे कडा प्रश्न उठाउँदै प्रधानमन्त्रीको जवाफ माग गरेकी छिन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था मन्त्री बलराम अधिकारीको घुस सम्बन्धी अडियो सार्वजनिक भएपछि सांसद राईले सरकार किन मौन छ भनेर संसदमा प्रश्न गरिन्।
“प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नुभएको ‘म घुस लिँदिन, अरूलाई लिन दिन्न’ भन्ने टुक्काले मात्रै पुग्छ कि कानुनी र नैतिक जवाफदेही पनि आवश्यक छ?” भन्दै उनले थपिन्, “घुस डिल त केवल सामान्य प्रशासन मन्त्रीको मात्र नभएर प्रधानमन्त्रीको नैतिकताको सवाल पनि हो।”
राईले मालपोत कार्यालय र भूमि आयोग कास्कीमा भएको भनिएको सरुवा सेटिङ प्रकरण पनि उठाउँदै, यस्ता गम्भीर अडियोहरू सार्वजनिक भइरहँदा चुप लागेर बस्नु उपयुक्त नहुने बताइन्। उनले सभामुखसँग प्रधानमन्त्रीले संसदमा स्पष्ट जवाफ दिनुपर्ने र आवश्यक कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिन माग गरिन्।