• २०८३ जेठ २६
  • 2026 June 09, Tuesday

कुलिङ पिरियड संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयनको माग

काठमाडौँ। विपक्षी दलहरूले संघीय निजामती सेवा विधेयक २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न माग गरेका छन् ।

सभामा प्रतिवेदन पेस भएसँगै कार्यान्वयनमा जानुपर्ने भनेर विपक्षी दलहरूले सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गरेका छन् ।

आफूहरूले औपचारिक रूपमै सभामा प्रतिवेदन पेस भएपछि कार्यान्वयनमा लैजान सभाबाट नै भनेको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बताए।

छानबिन प्रतिवेदन संसद्‍मा पेस भएको छ । लगत्तै आफूहरूले उक्त प्रतिवेदन तदारुकताका साथ कार्यान्वयनमा लैजान भनेको पाण्डेले बताए। प्रतिनिधि सभाको बैठक यही साउन २७ गते बस्दै छ ।

कुलिङ पिरियडमा भएको गडबडीबारे छानबिन प्रतिवेदन यही साउन २० गते प्रतिनिधि सभामा पेस भएको थियो । प्रतिवेदनले विधेयकमाथिको दफावार छलफलमा गर्नुपर्ने सुधार, संसद् सचिवालयले गर्नुपर्ने तयारी, सांसदहरूले ध्यान दिनुपर्ने लगायतका विषय समेत समावेश रहेका छन् ।