• २०८३ जेठ २२
  • 2026 June 05, Friday

एसएसपी विश्वराज अधिकारीसहित सयौँ प्रहरी दिव्य पशुपतिनाथ सफाइ अभियानमा सहभागी

काठमाडौं । पशुपतिनाथ मन्दिर क्षेत्रको सरसफाइ, फोहोर व्यवस्थापन तथा हरियाली प्रवर्द्धनको उद्देश्यसहित सुरु गरिएको दिव्य पशुपतिनाथ सफाइ अभियान अन्तर्गत शनिबार ठूलो संख्यामा प्रहरी, स्वयंसेवक र सामाजिक अभियन्ताहरू सहभागी भई सफाइ कार्य सम्पन्न भएको छ।

क्लाइमेट स्मार्ट सिटिजसँगको सहकार्यमा मैना देवी फाउन्डेसनद्वारा आयोजना गरिएको उक्त सरसफाइ कार्यक्रममा काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज अधिकारी स्वयं सहभागिता जनाउँदै सयौँ संख्यामा नेपाल प्रहरी परिचालित भएको हो।

कार्यक्रमका अभियन्ता केपी खनालका अनुसार, बिहानैदेखि सुरु भएको सरसफाइ अभियानमा नेपाल प्रहरी, मैना देवी फाउन्डेसन, क्रेसन नेपाल लगायत संस्थाहरूका सयौँ स्वयंसेवकहरूको सक्रिय सहभागिता रहेको थियो।

सफाइ अभियानको क्रममा ४५० केजी भन्दा बढी फोहोर संकलन गरिएको बताइएको छ। संकलित फोहोरमध्ये प्रमुख रूपमा चुरोटका खोस्टा, चकलेटका खोल, मेडिकल सामग्री, गुट्खाका खोल लगायतका अव्यवस्थित फोहोरहरू थिए।

अभियन्ता केपी खनालका अनुसार ‘पशुपतिनाथजस्तो पवित्र धार्मिक क्षेत्रलाई स्वच्छ, हरित र दिव्य बनाउन यस्तो अभियान आवश्यक छ, र यसमा सबैको सहकार्य अझ जरुरी हुन्छ।’

उक्त अभियान पशुपतिनाथ क्षेत्रको दीर्घकालीन संरक्षण र स्वच्छ वातावरण कायम गर्नका लागि एउटा उदाहरणीय कदमको रूपमा हेरिएको छ।