
काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगर अमेरिका भ्रमणमा छिन् । उनी यही भदौ १३ गते स्वदेश फर्किने कार्यक्रम तय भएको छ । उनी अमेरिकामा रहेको बेलामा यता नेपालमा कांग्रेस र एमालेले उनलाई हटाउनको लागि हस्ताक्षर अभियान चलाएका छन् ।
हिजोबाट सुरु भएको हस्ताक्षर अभियान उनी आएपछि निश्कर्षमा पुर्याउने सत्तारुढ दल कांग्रेस र एमालेको तयारी छ । उनी भदौ १३ गते फर्किनेगरि अमेरिका भ्रमणमा गएकी हुन् । अमेरिकामा भएको बेलामा नै आफूलाई हटाउनको लागि कांग्रेस र एमालेले हस्ताक्षर सुरु गरेपछि उनीपनि आश्चर्यमा परेकी छिन् ।
अमेरिकाबाटै उनले कांग्रेसका नेता डा. शेखर कोइरालासँग फोन सम्वाद गरिन् । रास्वपाका सांसदहरुसँगपनि उनको फोनमार्फत सम्पर्क भएको थियो । उनले आफू निर्धारित सबै कार्यक्रम सकेर भदो १३ गते काठमाडौं आउने जानकारी दिएकी छिन् । उनी यतिवेला बोस्टनमा छिन् । त्यहाँबाट उनी न्यूयोर्कको कार्यक्रममा पनि सहभागी हुनेछिन् ।