
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीको ७५औं जन्मजयन्तीलाई भव्यतापूर्वक सम्पन्न गर्ने उद्देश्यले गठित ‘मदन भण्डारी ७५औं जन्मजयन्ती मूल व्यवस्थापन समिति’ को कार्यालय उद्घाटन गर्ने भएकी छिन् । सो कार्यालयको लागि यसअघि नै घर लिईएको र सम्पूर्ण सजावट भैसकेको बताईएको छ ।
नयाँ बानेश्वर (मण्डला थिएटर) सँगै रहेको ठूलो भवनमा भण्डारीले आफ्नो राजनीतिक गतिविधि गर्ने भनिएको छ । एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी भण्डारीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेनन् । ओलीले भण्डारीलाई एमाले प्रवेशको ढोका नै बन्द गरिदिएका छन् ।
तर, भण्डारीले भने आफू नरोकिने सन्देश बालकोटलाई दिइसकेकी छिन् । उनी यतिवेला बुढानिलकण्ठ भंगालमा बस्छिन् । तर, राजनीतिक गतिविधिको लागि आफू बसेको निवास टाढा हुने भएकोले नयाँ बानेश्वरमा उनले भव्य महल भाडामा लिएकी हुन् । सो भवनको आज दिउँसो २ बजे उद्घाटन हुने भएको हो । कार्यालय उद्घाटनमा भण्डारी नै प्रमुख अतिथि छिन् ।