
काठमाडौँ। सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले गृहमन्त्री र प्रहरी महानिरीक्षकलाई महिला प्रहरीबाट सुरक्षा लिन आग्रह गरेकी छन् ।
नेपाल प्रहरीले बिहीबार आयोजना गरेको पहिलो महिला प्रहरी सम्मेलनमा न्यायाधीश मल्लले भिभिआइपी र भिआइपीको सुरक्षामा महिला प्रहरी खटाउनुपर्ने बताएकी हुन् । महिलाहरू सुरक्षा दिन सक्षम छन् भनेर उदाहरण बनिदिन उनले गृहमन्त्री रमेश लेखक र प्रहरी महानिरीक्षक दीपक थापालाई आग्रह गरिन् ।
‘म यो प्रहरी सम्मेलनमा के निवेदन गर्न चाहन्छु भने मेरो सुरक्षामा त महिला पनि हुनुहुन्छ । अब यदि महिलाले सुरक्षा लिने वर्ग होइन दिने वर्ग पनि हो भने भिभिआइपी र भिआइपीको सुरक्षामा र विशेष गरेर आइजिपी र गृहमन्त्रीहरूले महिलाबाट सुरक्षा लिनुस्, तपाईँहरू उदाहरण बनिदिनुस् ।’
प्रहरीमा पनि महिला प्रमुख भएको हेर्ने चाहना रहेको उनले बताइन् । महिलाको क्षमता नहेरी लिंगका आधारमा केही गर्न सक्दैनन् भन्ने अनुमान त्याग्न उनले सुझाव दिइन् ।
पछिल्लो समय महिलाहरू धेरै क्षेत्रमा अगाडि बढिरहेको उनले उदाहरण दिइन् । शून्यबाट १२ प्रतिशतसम्म महिलाको सहभागिता प्रहरी र न्याय क्षेत्रमा पुगेको उनको भनाइ छ ।