अचानक स्थगित भयो प्रचण्डद्वारा बोलाइएको पदाधिकारी बैठक

काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको पदाधिकारी बैठक एक्कासि स्थगित गरिएको छ ।

दिउँसो २ बजे पार्टी मुख्यालय पेरिसडाँडामा तय गरिएको बैठकमा मध्यपहाडी लोकमार्गकेन्द्रित अभियान, समसामयिक राजनीतिक घटना, एकताबाट आएकाहरूको जिम्मेवारीलगायतको एजेण्डा थिए ।

शनिबार प्रकाश विकल्पद्वारा लिखित ‘एन्टिथेसिस’ पुस्तकका सन्दर्भमा वर्तमान नेपाली राजनीतिको अग्रगामी रूपान्तरण बहस कार्यक्रममा उपमहासचिव जनार्दन शर्माले अध्यक्ष प्रचण्डप्रति लक्षित गर्दै शेषनागले पृथ्वी बोकेको कुरा दन्त्यकथा भइसकेको टिप्पणी गरेका थिए ।

प्रचण्डले बुधवार सरकारमा नभए पनि राजनीतिको खाँबो आफैँले थेगेजस्तो लागिरहेको बताएका थिए । त्यसको जवाफ दिँदै शर्माले शेषनाग हल्लिँदा भूकम्प नआउने भन्दै विज्ञानले पृथ्वी किन हल्लिन्छ भन्ने पुष्टि गरिसकेको बताए । बैठक स्थगितको कारण नखुलेपनि अध्यक्षलक्षित शर्माको पछिल्लो भनाइपछि हेडक्वार्टरको केही तयारी रहेको स्रोतले बतायो ।

कार्यालय सचिव गणेशमान पुनले बैठक तय भएपनि व्यस्त सेड्युलका कारण अहिले स्थगित गरिएको बताए । ‘बस्ने कि भन्ने थियो । तर, टाइट सेड्युलका कारण आज नबस्ने भयो’, उनले बताए ।

यसअघिको माओवादी बैठकले उपमहासचिव जनार्दनको गतिविधि लक्षित गर्दै पार्टीभित्रको गुट उपगुट नै समस्याको रूपमा रहेको निचोड निकाल्दै स्वार्थ समूह चलाए कारबाही गर्ने निर्णय निकालिएको थियो ।

बैठकपछि अध्यक्ष प्रचण्डले अपानी पठाउँदै शर्माले आत्मालोचना नगरेको भन्दै गुटबन्दी नगर्न र नेतामाथि आरोप नलाउनू निर्देशन गरिएको लेखेका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१