
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको अविभाज्य भूभाग भएकोमा अडान दोहोर्याएको छ। सन् १८१६ को सुगौली सन्धिसहितका ऐतिहासिक, भौगोलिक, राजनीतिक र कानुनी प्रमाणले यी क्षेत्र नेपालकै भएको निर्विवाद प्रमाणित गर्ने भन्दै रास्वपाले यस विषयमा सरकारको रवैयाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
भारत र चीनबीच लिपुलेक पास हुँदै परम्परागत सीमा व्यापार मार्ग खोल्ने विषयमा भएको हालैको सम्झौतापछि नेपाल सरकारले देखाएको मौनता र कमजोरीमाथि प्रश्न उठाउँदै पार्टीले संसद्मा यसअघि उठाइएका मागहरूप्रति समेत सरकार उदासीन बनेको आरोप लगाएको छ।
रास्वपाले प्रधानमन्त्रीको आसन्न भारत तथा चीन भ्रमणमा सीमा विवादलाई स्पष्ट र दृढतापूर्वक प्रस्तुत गर्नुपर्ने माग गर्दै नेपाली भूमिमाथि कुनै पनि गतिविधि वा सम्झौता नेपालकै प्रत्यक्ष सहभागिता र सहमति बिना वैध नहुने स्पष्ट चेतावनी दिएको छ।
सीमा विवादजस्तो संवेदनशील मुद्दा सत्तापक्ष वा प्रतिपक्षबीचको प्रतिस्पर्धाको विषय नभई सर्वसम्मत राष्ट्रिय अडानको विषय भएको भन्दै रास्वपाले कूटनीतिक र शान्तिपूर्ण तर प्रभावकारी माध्यमबाट समाधान खोज्नुपर्नेमा जोड दिएको छ। पार्टीले आवश्यक सहयोगका लागि आफूहरू सदैव तयार रहने जनाएको छ।
विज्ञप्ति हेर्नुहोस्