पार्टी आन्दोलन प्रभाकरको विश्वासमा भर पर्दैन : प्रचण्ड

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा उपमहासचिव जनार्दन शर्मा प्रभाकरले नपत्याउँदैमा आन्दोलन नरोकिने बताएका छन् ।

पार्टीको प्रदेश सचिवालय बैठकका लागि बिहीबार बिहान विराटनगर आएका प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै जनार्दनको नाम लिएरै यस्तो बताएका हुन् ।

‘एकजना प्रभाकरले नपत्याएर यो पार्टी आन्दोलन, यो इतिहास रोकिँदैन,’ नेतृत्वको विषयमा पार्टी भित्रैका मान्छेले पत्याएका छैनन् नि भन्ने पत्रकारको प्रश्नमा ‘प्रचण्ड’ले भने ।

उनले जनार्दन शर्माको अभिव्यक्तिका विषयमा पार्टीमा समीक्षा गर्ने पनि बताए । ‘हामी आउने पदाधिकारीको बैठकमा यो विषयमा समीक्षा गर्छौँ’ उनले भने ।

उनले पार्टीविरुद्ध स्वार्थ समूहहरू सक्रिय भएको उल्लेख पनि गरे । स्वार्थ समूह भनेको के हो भन्ने प्रश्नमा उनको जवाफ थियो, ‘स्वार्थ समूह भनेको पार्टीको स्वार्थ, पार्टीको लाइन, पार्टीको विधि, पार्टीको पद्धति र लिडरसीप भन्दा बाहिर सार्वजनिक रूपमा वा आन्तरिक रूपमा पनि स्वार्थमा केन्द्रित भएर मिटिङहरू गर्नुलाई स्वार्थ समूह भनिएको हो ।’

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१