पूर्वराष्ट्रपतिलाई पुनः राजनीतिमा फर्कन नपाउने व्यवस्था गरिनुपर्ने सुझाव

काठमाडौँ । सत्तारुढ दल नेकपा एमाले निकट प्रेस चौतारी नेपालले राष्ट्रपति भइसकेका व्यक्ति राजनीतिमा आउन नमिल्ने व्यवस्था संविधानबाटै किटान गर्नुपर्ने सुझाव पार्टीलाई पेश गरेको छ ।

बिहीबार चौतारीका अध्यक्ष गणेश पाण्डेसहितका पदाधिकारीहरूले महासचिव शंकर पोखरेललाई भेटेर सुझाव बुझाएका हुन् । पूर्वराष्ट्रपतिको राजनीतिक यात्रा, दुई कार्यकाल र ७० वर्षे उमेरहद, केन्द्रीय कमिटी, पार्टी सदस्यता, सम्पर्क समन्वय कमिटी लगायतका विषयमा सुझावहरू महासचिव पोखरेलमार्फत पार्टीलाई बुझाइएको हो ।

‘देशको सर्वोच्च संस्था राष्ट्रपति, उपराष्ट्रपति भइसकेका व्यक्तित्वहरू सक्रिय राजनीतिमा फर्कने विषय यी पदहरूको गरिमा र नैतिक मूल्यमान्यताका हिसाबले पनि उपयुक्त मानिँदैनन्,’ चौतारीले बुझाएको सुझावमा भनिएको छ, ‘त्यसैले त्यस्ता पदमा पुगेका व्यक्तिहरूलाई ससम्मान सक्रिय राजनीतिमा फर्कन नपाउने व्यवस्था देशको संविधान र पार्टीको विधानमा किटान गर्नुपर्दछ ।’

यसका अलावा विभिन्न संवैधानिक आयोगमा नियुक्त भएका प्रमुख आयुक्त र आयुक्तहरूलाई पनि सक्रिय राजनीतिमा आउने कुरालाई रोक्नु उपयुक्त हुने सुझाव चौतारीले दिएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१