ओलीकाे पतनपछि एमाले नेतृत्व पुनर्गठन गर्नुपर्ने योगेश भट्टराईको सुझाव

काठमाडाैं । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टी नेतृत्व पुनर्गठनको प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् बिहीबार आफ्नो धारणा सार्वजनिक गर्दै उनले एमालेको नेतृत्व पुनर्गठनको प्रस्ताव गरेका हुन् ।

नेता भट्टराईले लेखेका छन्, ‘पार्टी संगठन र नेतृत्वको नयाँ ढंगले पुनर्गठन गरौँ, यो काम होशियारीपूर्वक गरौँ । जसले हाम्रो पार्टी एकता कायम गरोस् ।’ उनले एमालेका नेता–कार्यर्ताहरूलाई सम्बोधन गर्दै आफूहरू इतिहासकै गम्भीर संकटको अवस्थामा रहेको बताएका छन् । उनले देश र समाज भयानक अस्थिरतामा पुगेको टिप्पणी पनि गरेका छन् ।

‘हामी यतिबेला इतिहासकै गम्भीर संकटको अवस्थामा छौँ । देश र समाज भयानक अस्थिरतामा छ, हामी सबै तनावमा छौँ । यस्तो अवस्थामा उत्तेजनामा आएर गरिने निर्णयले हामीलाई सही ठाउँमा पुर्‍याउँदैन’ भट्टराईले भनेका छन् । नेता भट्टराईले पार्टी र देश निर्माणका लागि १० बुँदे प्रस्ताव पनि अघि सारेका छन् ।

यस्ता छन् प्रस्तावहरू

१. विकसित घटनाहरूलाई राम्रोसित विश्लेषण गरौँ । हामीबाट भएका कमजोरीको समीक्षा गरौँ । गल्तीप्रति आत्मालोचित होऔँ ।

२. पार्टी संगठन र नेतृत्वको नयाँ ढंगले पुनर्गठन गरौँ । यो काम होशियारीपूर्वक गरौँ । जसले हाम्रो पार्टी एकता कायम गरोस् ।

३. पार्टीमा आम सदस्यहरूको अपनत्व र सहभागीता सुनिश्चित गरौँ ।

४. पार्टीका आन्तरिक प्रक्रियाहरूलाई पूर्णतः पारदर्शी र लोकतान्त्रिक बनाऔँ ।

५. जनतामा जाऔँ, जनतालाई सुनौँ र त्यसअनुसार निर्णय गरौँ ।

६. लोकतन्त्र, बहुदलीय प्रतिस्पर्धा, मानवअधिकार, प्रेस स्वतन्त्रता, संविधानको सर्वोच्चता, कानूनको शासन यो जबजको आत्मा हो, यसबाट दाँया–बाँया नजाऔँ ।

७. खरानीबाट उठेर देशको पुनर्निर्माण गर्नु छ । नेपालको हित चिताउने सबैसँगको समन्वयबाट यो काम संपन्न गर्ने अठोट गरौँ।

८. हिमाल, पहाड़, तराई, सबै जात, जाति र भाषा, भाषीबीचको एकतालाई बलियो बनाऔँ ।

९. देशभित्रको आन्तरिक सहमति अनि संवैधानिक तथा लोकतान्त्रिक मूल्य, मान्यताअनुरूप निकास दिनु पर्दछ । विश्व समुदायले नेपालीहरूको उक्त प्रयत्नलाई सहयोग गर्नु पर्दछ । यही आधारमा अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरौँ ।

१०. जेन–जी समूहले अघि सारेका भ्रष्टाचार र बेथिती अन्त्य गर्ने मागलाई समर्थन र कार्यान्वयनमा सहयोग गरौँ । नेपाल बचाऊँ, नेपालित्व जोगाऔँ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१