
काठमाडौं । सर्वोच्च अदालतको भवनमा मंगलबार भएको आगजनीपछि त्यहाँ रहेका महत्वपूर्ण कानुनी फाइलहरू न्याय परिषद्को भवनमा सारिने प्रक्रिया सुरु गरिएको छ ।
जेनजी पुस्ताहरुको आन्दोलनले सर्वोच्च अदालतमा आगो लगाइएको घटनाले न्याय क्षेत्रलाई ठूलो क्षति पुर्याएको छ । सर्वोच्च अदालतका अधिवक्ता भरत कुमार घिमिरेले गहिरो पीडा व्यक्त गरे ।
उनले भने, ‘न्याय मर्यो, पुस्ताकै न्याय मर्यो, शताब्दिकै न्याय मर्यो । आस्थाको धरोहर ढल्यो, आस्थाको शीर ढल्यो । सर्वोच्च अदालत अन्तिम न्याय दिने संस्था हो । अब त्यो भग्नावशेष अवस्थामा पुगेको छ । हाम्रो पुस्तालाई अध्यारोतर्फ धकेलिएको छ ।’
सर्वोच्च अदालतकी अर्की अधिवक्ता मञ्जु दासीले पनि न्यायालयमा भएको विध्वंसप्रति आक्रोश व्यक्त गरिन् ।
उनले भनिन्, ‘हामी भ्रष्टाचारबाट आक्रान्त थियौं । त्यसबाट मुक्ति चाहन्थ्यौं । तर यो मुक्ति होइन, यो त न्यायको हत्या हो । हाम्रो धरोहर र सम्पदामाथिको यो प्रहार स्वीकार्य छैन ।’
मंगलबार जेनजी पुस्ताहरुको आन्दोलनले सर्वोच्च अदालतको पूरै भवन जलाएका थिए । तर जेनजी भनिएका आन्दोलनकारीहरुले प्रदर्शनमा घुसपैठ भएको र आगजनी भएको बताउँदै आएका छन् ।