
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेनजी आन्दोलनकारीका माग सम्बोधन गरेर मात्र देशलाई अगाडि बढाउन सकिने बताएका छन् ।
कांग्रेस कार्यकर्तालाई सम्बोधन गर्दै भिडियो सन्देश सार्वजनिक गरेका थापाले आन्दोलनमा उठेका मुद्दालाई सम्बोधन गर्ने गरी अन्तरिम सरकार गठन गर्नुपर्नेमा जोड दिए । उनले कांग्रेस त्यसका लागि आवश्यक वातावरण बनाउन तयार रहेको स्पष्ट पारे ।
थापाले नयाँ बन्ने सरकार संविधानसँग जोडिएको र संविधानसम्मत हुनुपर्नेमा जोड दिँदै भने, ‘अब बन्ने सरकारले नयाँ चुनाव गराउँछ, पुनर्निर्माणको काम अघि बढाउँछ, तोडफोड र आगजनी घटनाको छानबिन गर्छ ।’
उनले जेनजी युवाले उठाएका मागलाई सम्बोधन गर्ने सरकार बन्नुपर्ने भन्दै नागरिक सरकारमार्फत २०४६ पछिका सम्पत्तिको छानबिन, अख्तियारलगायत निकायमा योग्य व्यक्तिको नियुक्ति, र पारदर्शिता कायम गर्नुपर्ने बताए ।
महामन्त्री थापाले आज साँझसम्म सरकार गठनबारे टुंगो लाग्ने विश्वास व्यक्त गर्दै राजनीतिको गति पुनः लयमा फर्किने आशा व्यक्त गरे ।