• २०८३ जेठ २५
  • 2026 June 08, Monday

मन्त्री बन्नेबित्तिकै नि:शुल्क शिक्षा दिन म भगवान होइन, मन्त्रालयमै बसेर काम गर्छु : महावीर पुन

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफू अप्रत्याशित रूपमा मन्त्री बनेको भन्दै अहिले नै योजनाबारे नसोध्न आग्रह गरेका छन्।

सोमबार राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएपछि मन्त्रालय पुगेका मन्त्री पुनले पत्रकारसँग कुरा गर्दै तत्कालै विज्ञहरूसँग छलफल गरेर मात्र कार्यक्रम बनाउने बताएका हुन्।

उनले भने, ‘म राजनीति क्षेत्रको मान्छे होइन। योजना बनाएर आएको पनि होइन। किताब बेच्ने मानिसलाई मन्त्री बनाइदिएपछि के गर्ने भनेर अहिले नसोध्नुस्। अब विज्ञहरूको सुझाव लिएर त्यसलाई कार्यान्वयन गर्छु।’

मन्त्री पुनले विज्ञान, प्रविधि, नवप्रवर्तन र अनुसन्धानलाई प्राथमिकतामा राख्ने स्पष्ट पारे। शिक्षासम्बन्धी कामबारे भने विज्ञसँग सल्लाह गरेर मात्र अघि बढ्ने बताए।

‘मलाई सेवा–सुविधा केही चाहिन्न। मन्त्रालयमै बसेर काम गर्छु। किचन होस्, ओछ्यान लगाएर सुत्छु। तर युवाहरूले आफ्नो बुद्धिअनुसार काम गर्नुपर्छ भन्ने मेरो मान्यता छ,’ उनले भने।

आफू मन्त्री हुने सोच नभए पनि परिस्थितिका कारण मन्त्री बनेको भन्दै पुनले व्यवहारिक कामले मात्रै आफूलाई मन्त्री ठहरिने बताए।

नि:शुल्क शिक्षा दिन सक्ने विषय अहिले सम्भव नभएको स्पष्ट पार्दै उनले भने, ‘म मन्त्री भएको मान्छे मात्र हुँ, भगवान् होइन। तर केही न केही राम्रो काम गर्ने प्रयास गर्छु।’