दशैमा घर जाने योजना बनाएर इसेवाबाट टिकट काटेकाहरु यतिबेला अलपत्र बनेका छन्। काटिसकेको टिकटलाई इसेवाले यात्राभन्दा ४-घण्टा पहिला अकस्मात रद्द गरिदिएपछि सयौं यात्रु अब कसरी घर जाने भनेर चिन्तामा परेका छन् ।
बुटवल जान ठिक्क परेका यात्रु रमेस (नाम परिवर्तन) ले शनिबार आफ्नो यात्रा योजना अनुसार आइतबार बेलुका घर जानका लागि इसेवाबाट बुद्द एक्सप्रेस बसको टिकट काटेका थिए। चाडवाड नजिकिएसँगै घर जाने भनेर ढुक्क भएका रमेसले आइतबार बेलुकाका लागी शनिबार दिउसो टिकट काटेका थिए। तर यात्रा हुने दिन आइतबार, जाने समय नजिक पुगेको बेला, इसेवाबाट अचानक मेसेज आयो “तपाईंको टिकट रद्द गरिएको छ। पर्न गएको असुविधाको लागि हामी क्षमाप्रार्थी छौं, दुर्भाग्यवश बस सेवा उपलब्ध छैन। तपाईंको टिकट रकम छिट्टै फिर्ता गरिनेछ। तपाईंको समझदारी र धैर्यको लागि धन्यवाद।”
टिकट रद्द भएपछि रमेस र उनि जस्ता धेरै यात्रुहरु अब घर जानको लागि असहज अवस्थामा पुगेका छन्। सवारीधनी र इसेवाको जनसम्पर्क विभागबाट पर्याप्त जवाफ नआएपछि यात्रुहरू अहिले अलपत्र बनेका छन्।
चाडवाड जस्तो व्यस्त समयमा अनलाइन टिकट प्रणालीबाट हुने यस्तो अचानक रद्दले यात्रुहरूमा तनाव र असुविधा निम्त्याइरहेको छ ।
