शुक्रबार ८ वटा उद्योगले डेडिकेटेड तथा ट्रंक लाइन बापतको बक्यौता रकम बुझाएका छन् । नेपाल विद्युत प्राधिकरणका अनुसार शुक्रबारको कार्यालयसमय भित्र कुल ८ वटा उद्योगहरुले बक्यौता बापतको रकमको किस्ता बुझाएको जनाएको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवाले शुक्रबारसम्म डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको बाराको सिमरामा सञ्चालित हुलास स्टील इण्डष्ट्रिजले प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत प्राधिकरणलाई तिर्न सुरु गरेको छ । उद्योगले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग बापतको प्रिमियम महसुलको कुल १४ करोड १२ लाख रुपैयाँ बक्यौता रकमलाई प्रतिकिस्ता ५० लाख ४३ हजार रुपैयाँको एक मासिक किस्ता हुने गरी २८ किस्तामा बुझाउने स्वीकृति प्राधिकरणबाट पाएको छ ।
यसैगरी, १७ करोड ५८ लाख रुपैयाँ बक्यौता रहेको अशोक स्टीलले पनि पहिलो किस्ता बुझाएको छ । अशोकले २८ किस्ताको सुविधा लिई ६३ लाख रुपैयाँ बुझाएको हो ।
यस्तै, सिमरास्थित हामा आइरन एन्ड स्टील इन्डस्ट्रिजले पनि डेडिकेटेड ट्रंक लाइनको कुल बक्यौता ५ करोड ८५ लाख मध्ये पहिलो किस्ता बापत २० लाख ९० हजार रुपैयाँ बुझाएको छ ।
लक्ष्मी स्टीलले पनि किस्ता बापत ८४ लाख ९८ हजार बुझाएको छ ।
सर्वोत्तम सिमेन्टले पनि ४० लाख रुपैयाँ बुझाएको छ ।
सम्राट समेन्टले उद्योगले एकैपटक तीन किस्ता बराबर ४० लाख ४७ हजार रुपैयाँ बुझाएर जेठसम्मको किस्ता चुक्ता गरेको छ ।
रोल्पा सिमेन्टले पाँच किस्ता बराबर १७ लाख ७० हजार रुपैयाँ एकैपटक तिरेको हो ।
त्यस्तै, नव नेपाल प्लास्टिक इन्डस्ट्रिजले १२ किस्ता बराबर १ लाख २३ हजार रुपैयाँ तिरेर आफ्नो सम्पूर्ण बक्यौता रकम चुक्ता गरेको छ ।