काठमाडौँ । पाँच तारे हायात होटल बन्द भएको प्रति प्रधानमन्त्री सुशीला कार्कीले चासो व्यक्त गरेकी छिन् । प्रधानमन्त्री कार्कीले होटल सुचारु गराउने गरी वातावारण बनाउन अर्थमन्त्री खनाललाई निर्देशन दिएकी थिइन । त्यसपछि अर्थमन्त्री रामेश्वर खनालले हायात होटल व्यवस्थापनसँग शनिबार बिहान छलफल गरेका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफलमा मन्त्री खनालले सुरक्षाको पूर्ण प्रत्याभूति दिन सरकार तयार रहेको बताउँदै विचलित नभई सेवा सञ्चालन गर्न हायात व्यवस्थापनसँग आग्रह गरेका छन् ।
“तपाईँहरू आत्तिन भएन । उच्च मनोबलका साथ आफ्नो सेवा सुचारु गर्नुहोस् । हामी साथमा छौँ । सुरक्षाको व्यवस्था हामी मिलाउँछौँ । कत्ति पनि विचलित नभएर आफ्नो व्यवसायलाई निरन्तरता दिनुहोस्, ” खनालको भनाइ उद्धृत गर्दै सचिवालयले भन्यो ।
यसबारे अर्थमन्त्री खनाल र होटल व्यवस्थापनबिच थप छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
हायातले कात्तिक २ मा एक विज्ञप्ति जारी गर्दै भदौ २३ र २४ गतेका दिन भएको आन्दोलनको क्रममा होटलमा समेत तोडफोड र आगजनी भएकाले होटल संरचनामा क्षति पुग्न गएको कारण होटल तत्काल सञ्चालन गर्न सकिने उल्लेख गरेको थियो ।