• २०८३ जेठ २२
  • 2026 June 05, Friday

महँगी नियन्त्रणमा, रेमिटेन्स आप्रवाहमा कीर्तिमान, यस्तो छ अर्थतन्त्रको पछिल्लो अवस्था

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा अर्थतन्त्रका अधिकांश बाह्य सूचक सकारात्मक देखिएका छन् । नेपाल राष्ट्र बैङ्कले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनाको तथ्याङ्कमा आधारित ‘देशको आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनले अर्थतन्त्रका धेरै सूचक लयमा रहेको देखाएको हो ।

प्रतिवेदन अनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति १.४७ प्रतिशतमा सीमित रहेको छ । गत वर्षको दाँजोमा यस वर्ष महँगी घटेको हो । गत वर्षको असोजमा मुद्रास्फीति दर ४.८२ प्रतिशत थियो ।

असोजमा रेमिटेन्स आप्रवाहले नयाँ कीर्तिमान बनाएको छ । असोजमा मात्रै २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ । हालसम्म कुनै पनि महिना यति धेरै रेमिटेन्स भित्रिएको थिएन । असोजमा भित्रिएको रेमिटेन्स गत वर्षको असोजको दाँजोमा नेपाली रुपैयाँमा ३५.४ प्रतिशत र अमेरिकी डलरमा २९.२ प्रतिशतले बढी समेत हो । गत असोजमा १ खर्ब ४४ अर्ब १७ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको थियो । असोजमा दसैँ पर्ने र अमेरिकी डलरको मूल्य समेत उच्च रहँदा रेमिटेन्स आप्रवाहले नयाँ कीर्तिमान बनाएको हो । साउनदेखि असोजसम्मको ३ महिनामा गरी ५ खर्ब ५३ अर्ब ३१ करोड रेमिटेन्स आएको छ । यो गत वर्षको सोही अवधिको दाँजोमा ३५.४ प्रतिशतले धेरै हो । गत वर्षको साउनदेखि असोजसम्ममा ४ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ रेमिटेन्स आएको थियो ।

राष्ट्र बैङ्कका अनुसार असोजसम्ममा मुलुकको ढुकुटीमा २९ खर्ब ७९ अर्ब ८१ करोड रुपैयाँ विदेशी मुद्रा सञ्चित रहेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २१ अर्ब २१ करोड पुगेको छ । यस सञ्चितिले १६.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैङ्कले जनाएको छ ।

यस्तै, यस अवधिमा चालु खाता २ खर्ब ३७ अर्ब ५९ करोड र शोधनान्तर २ खर्ब ६४ अर्ब ३ करोड बचतमा देखिएको छ ।

यस अवधिमा निर्यात ८९.६ प्रतिशतले र आयात १९.८ प्रतिशतले बढेको छ । यस अवधिमा ७२ अर्ब ७८ करोडको वस्तु निर्यात भएको छ भने ४ खर्ब ६८ अर्ब ८ करोडको आयात भएको छ ।

यस अवधिमा नेपाल सरकारको ३ खर्ब ६४ अर्ब ५९ करोड खर्च भएकोमा राजस्व परिचालन भने २ खर्ब ४९ अर्ब ५ करोडमा सीमित छ ।

बैङ्क तथा वित्तीय संस्थाको निक्षेप परिचालन ३ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा १ दशमलव ५ प्रतिशतले बढेको छ । वाणिज्य बैङ्कहरूको निक्षेपको भारित औसत ब्याजदर ३.८५ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ७.५० प्रतिशत रहेको देखिएको छ ।