जापान । गल्कोट समाज जापानले अंग्रेजी नयाँ वर्ष–२०२६ को अवसरमा जापानका मुख्य तीन सहर— ओसाका, नागोया र टोकियो मा भव्य साङ्गीतिक श्रृङ्खला–२०२६ आयोजना गर्ने भएको छ। “हाम्रो गाउँ, हाम्रो ठाउँ: हातेमालो गरी समृद्ध बनाऔँ” भन्ने मूल नारासहित समाजले सामाजिक सेवाको उच्च भावनालाई निरन्तरता दिने उद्देश्य राखेको जनाएको छ।
सन् २००६ मा स्थापना भएको यस गैर–नाफामुखी संस्थाले गल्कोट क्षेत्र मात्र नभई नेपालका विभिन्न जिल्लामा समेत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक, स्वास्थ्य, पर्यटकीय तथा वातावरणीय क्षेत्रमा योगदान पुर्याउँदै आएको छ। जापानमा क्रियाशील नेपाली संस्थामध्ये अग्रस्थानमा रहेको यस समाजले विदेशमा रहेका गल्कोटेली बीच एकता, सद्भाव र सहकार्यलाई सुदृढ बनाउँदै आएको छ।
संस्थाका अध्यक्ष रत्नसिङ बस्नेतका अनुसार साङ्गीतिक श्रृङ्खला २०२६ तल उल्लेखित मितिमा हुनेछ :
२०२५ डिसेम्बर ३१ – ओसाका
२०२६ जनवरी १ – नागोया
२०६ जनवरी २ – टोकियो
यस वर्षको कार्यक्रम “समृद्ध राष्ट्र निर्माणका लागि जीवनोपयोगी शिक्षा, स्वास्थ्य र खेलकुदमा लगानी” भन्ने उद्देश्यसहित आयोजना गरिँदैछ। समाजका कोषाध्यक्ष तथा आर्थिक संयोजक महेन्द्र साहानीका अनुसार विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि कार्यक्रमबाट संकलित रकम सामाजिक कार्यहरूको निरन्तरताका लागि उपयोग गरिनेछ।
कार्यक्रम सफल बनाउन संस्था भित्र विभिन्न संयोजक तथा जिम्मेवार टोली गठन गरिएको छ। मुख्य आयोजक समितिमा संयोजक दिलबहादुर (दिल ब.) थापा ‘रामु’ रहेका छन् भने उप–संयोजक डिला गैरे, सांस्कृतिक संयोजक लोकेश खत्री, आर्थिक संयोजक महेन्द्र साहानी, प्रचार–प्रसार संयोजक दिलीप कँडेल, टोकियो संयोजक लक्ष्मण कार्की, नागोया संयोजक राम थापा ‘काजी’ तथा ओसाका संयोजक नारायण थापा रहेका छन्। कार्यविभाजनबारे महासचिव दिलीप कँडेलले जानकारी गराएका हुन्।
संस्थाले २० वर्षदेखि सामाजिक सेवाको विभिन्न आयामलाई निरन्तरता प्रदान गर्दै आएको छ। साङ्गीतिक धमाका–२०२६ मार्फत यस अभियानमा अझ एउटा महत्वाकांक्षी कदम जोडिने विश्वास संस्थाले व्यक्त गरेको छ।
यसै सन्दर्भमा, संस्थाका प्रवक्ता सन्तोष पुनले जापानभर रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आर्थिक, नैतिक तथा भौतिक रूपमा सहयोग गर्न, साथै उल्लेखित मितिहरूमा आफ्ना कार्यक्रमहरू नजुधाइदिन अनुरोध गरेका छन्। उनले सो अवसरमा ओसाका, नागोया तथा टोकियोमध्ये पायक पर्ने स्थानमा उपस्थित भई कार्यक्रम सफल बनाउन सहकार्य गरिदिन सबैलाई हार्दिक आह्वान गरेका छन्।