काठमाडौं । नेकपा एमालेले तत्काल सर्वोच्च अदालतका अन्य चार जना न्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव नल्याउने भएको छ ।
एमाले संसदीय दलको बैठकमा सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेले आवेग र प्रतिशोधका आधारमा निर्णय नगर्ने तर अदालतको नेतृत्वको आगामी कदम हेरी निर्णय लिने बताएका छन् ।
ओलीले निर्धारित मितिमै स्थानीय चुनावको पक्षमा रहेकाले परिस्थिति बिगार्ने काम नगर्ने बताएका हुन् । ओलीले महाअभियोगका विषयलाई लिएर प्रत्यक्ष द्वन्द्व बढाउने पक्षमा नरहेपनि सदन, सडक र कानूनी मोर्चा सबैतिर लडिरहने बताएका थिए ।
एमालेले सांसदहरूको हस्ताक्षर संकलन गरेकाे नेतृत्वले आवश्यक परेका बेला प्रयोग गर्ने निर्णय समेत भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
काठमाडाैं । सत्तारुढ दलहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि सर्वोच्च अदालतका चार न्यायाधीशलाई महाभियोग लगाउने तयारी गरेको छ ।
त्यसभन्दा अघि साेमबार बस्ने एमाले संसदीय दलको बैठकले ठोस निर्णय गर्ने एमाले नेताले बताएका छन् । एमालेका एक नेताका अनुसार आइतबार बालकोटमा बसेको एमाले सचिवालय बैठकमा सहभागीहरूले संवैधानिक इजलासका बाँकी चार न्यायाधीशविरुद्ध महाअभियाेग लगाउनुपर्ने सुझाव दिएका थिए ।
एमालेले प्रतिनिधि सभा पुनः स्थापना गर्ने न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरिएकाे बताइएकाे छ ।
काठमाडाैं । नेकपा एमालेका नेता महेश बस्नेतले अर्का नेता खगराज अधिकारीलाई पार्टी संगठन विभागको प्रमुखबाट हटाउन माग गरेका छन् ।
बस्नेतले अधिकारी संगठन विभाग चलाउन सक्ने व्यक्ति नभएको पनि बताएका छन् । जनवर्गीय संगठन (युवा संघ)मा अनावश्यक ‘हस्तक्षेप’ गरेको भन्दै बस्नेतले अधिकारीको विरोध गरेका छन् ।
‘छोटो समयको अनुभवबाट भन्न सकिन्छ तपाईं (अधिकारी) संगठन विभाग चलाउन सक्ने व्यक्ति होइन,’ बस्नेतले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, ‘ तसर्थ क. खगराज अदिकारीलाई संगठनको जिम्मेवारीबाट तत्काल मुक्त गर्न पार्टी नेतृत्वसंग माग गर्दछु ।’
उनले लेखेकाे फेसबुक पाेस्ट जस्ताकाे तस्तै :
क.खगराज अधिकारी १) पार्टीको जन बर्गीय संगठनहरु राजनैतिक रुपमा नेकपा (एमाले) लाइन र निर्देशनमा र सांगठनिक रुपमा आफ्नै बिधान र स्वायत्त ढङ्गले अगाडि बढ्ने गर्दछन् । २) पार्टीको सचिवालयको बैंठकले जन संगठन संयोजन संयन्त्रले कार्यबिधि पारित गरिसकेपछि सो संग बाझिने गरी केन्दीय कमिटी र पदाधिकारी बनाउन निर्देशन गर्ने अधिकार तपाँईलाई कसले दियो ? ३) युवा संघले सचिवालयको अधिकारिक निर्णयबाट भएका फैसला र जिम्मेवारी पाएका साथीहरुलाई फरक निर्णय गर्ने जिम्मा कसले दियो ? ४) संगठनको इन्चार्ज , अध्यक्ष समेतसंग परामर्श नगरी संगठनको बारेमा बिभागको आडमा आदेश दिने न्यायपालिकीय अधिकार कसले दियो ? ५) एमाले बिरुद्ध चौतर्फी आक्रमण भैरहेको बेलामा आन्दोलनको मोर्चा सशक्त ढंगले सम्हालिरहेको युवा संघ माथी अराजकता हाबी हुने र बिरोधीहरुको हौसला बढ्ने गरी फैसला किन गर्नु भयो ? ६) छोटो समयको अनुभवबाट भन्न सकिन्छ तपाई संगठन बिभाग चलाउन सक्ने ब्यक्ति होइन । ७) तसर्थ क.खगराज अधिकारीलाई संगठनको जिम्मेवारीबाट तत्काल मुक्त गर्न पार्टी नेतृत्वसँग माग गर्दछु ।
काठमाडाैं । नेकपा एमालेका नेता महेश बस्नेतले चुट्की बजेको भरमा एमालेले एमसीसीमा आफ्नो दृष्टिकोण बनाउने बताएका छन् । रिपाेर्टर्स क्लबमा आयाेजित कार्यक्रममा बस्नेतले पहिला सत्ता गठबन्धनकाे स्पष्ट धारणा सार्वजनिक भएपछि एमालेकाे स्पष्ट धारणा आउने बताएका हुन् ।
नेता बस्नेतले सत्ता गठबन्धनले एमसीसी दाउपेचका रुपमा दुरुपयाेग गर्न खाेजेकाे र गलत तरिकाले गिजाेलेकाे आराेप पनि लगाए । उनले गठबन्धनले एमसीसीसहितका विषयलाई एमालेमाथि आक्रमण गर्ने हतियार बनाएकाे पनि आराेप लगाए ।
पछिल्लाे समय एमसीसीकाे विषयमा बहस भइरहेकाे छ । सत्ता गठबन्धनमा रहेकाे नेपाली कांग्रेसबाहेक अन्यले एमसीसी संशाेधनसहित पास हुनुपर्ने माग राख्दै आएका छन् । तर कतिपय नेताहरुकाे यसमा दाेहाेराे चरित्र देखिएकाे छ ।
सरकारमा रहेका बेलामा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पनि एमसीसी संसदबाट पारित गर्ने पक्षमा थिए । तर गठबन्धन सरकार बनेपछि एमालेले अहिले एमसीसीकाे बारेमा स्पष्ट धारणा बनाएकाे छैन ।
काठमाडौं । तत्काल स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग गर्दै एमाले निकट युवा संघले सिंहदरबार परिसरमा कालो बेलुन उडाएको छ । निर्वाचनको मिति घोषणा गर्न सरकारको ध्यानाकर्षण गराउन भन्दै युवा संघले निषेधित क्षेत्र सिंहदरबार परिसरमा कालो बेलुन उडाएको हो ।
निषेघित क्षेत्रमा नै युवा संघका कार्यकर्ता बिरोधमा उत्रिएपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सो क्रममा राष्ट्रिय युवा संघका केन्द्रीय सदस्यहरु गणेश थापा, जयराम लामा, अजित लामा पक्राउ परेका छन् ।स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग गर्दै एमाले निकट संघ संगठनहरुले निरन्तर बिरोधका कार्यक्रम गर्दै आएका छन् ।
काठमाडाैं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले देश विकास गर्ने जनताको सपनालाई सत्ता गठबन्धनले मूर्छित पार्ने काम गरेको आरोप लगाएका छन् ।
प्रेस चौतारी नेपालको स्थापना दिवसका शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले गठबन्धन सरकारले पूर्वाधार निर्माण लगायतका कामहरु रोकेको भन्दै विकासको सपनालाई मूर्छित पार्ने काम गरेको आरोप लगाएका हुन् ।
एमालेलाई समाप्त गर्ने विषाक्त विचार बोकेर निर्माण भएको गठबधनलाई राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताका मुद्धामा कुनै चासो नै नरहेको उनले बताए । पोखरेलले वर्तमान सरकार बनेपछि कालापानी र लिपुलेकलाई पनि अपनत्व दिन नसकेको तर्क गरे ।
एमालेले संघीयताको बलियो कार्यान्वयन चाहको भन्दै उनले संघीयता नचाहनेहरुलाई लिएर गठबन्धन दल अघि बढेको बताए । स्थानीय तहको चूनावको मिति घोषणा नगरेर परमादेश सरकारले संविधान र कानून उलंघन गरेको उनकाे भनाइ थियाे । उनले स्थानीय तहको निर्वाचन समयमै नगराए जनपरिचालन गर्ने चेतावनीसमेत दिए ।
प्रेस चौतारी नेपालले २४औं स्थापना दिवसका अवसरमा विभिन्न व्यक्तिलाई पुरस्कार दिने घोषणा पनि गरेको छ । प्रेस चौतारी नेपाल ०५५ सालमा स्थापना भएको हो ।
काठमाडाैं । नेकपा (एमाले)को केन्द्रीय अनुशासन आयोगले पार्टीको केन्द्रीय कमिटी, निकाय, सङ्घीय सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख–उपप्रमुखलाई आफ्नो व्यक्तिगत सम्पत्ति विवरण भरेर अनिवार्यरूपमा बुझाउन निर्देशन दिएको छ ।
आयोगका अध्यक्ष केशव बडालले जारी गर्नुभएको अन्तरपार्टी निर्देशन–१ मा पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनबाट पारित विधानको धारा ७९ र आयोगको कार्यसम्पादन नियमावलीको नियम ६ बमोजिम पार्टीबाट निर्वाचित गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षसमेतलाई यही पुस १४ गतेदेखि गणना हुने गरी ६० दिनभित्र आयोगसमक्ष उक्त विवरण पेश गर्न निर्देशन दिइएको हो ।
आयोेगले पार्टीभित्र अनुशासन पालनाका लागि आचारसंहिताको मस्यौदा पनि तयार गरिरहेको छ । आयोगका सचिव भरत पहारीले तयार गर्नुभएको सो मस्यौदामाथि थप छलफल गरेर पारित गरिने जनाइएको छ ।
काठमाडौं । नेकपा (एमाले)ले आगामी माघ २० मा हुने राष्ट्रियसभा निर्वाचनको लागि १९ जना उम्मेदवार छनोट गरेको छ । तुल्सीलाल आमात्य प्रतिष्ठानमा सोमबार बसेको पार्टी बैठकले १९ जना उम्मेदवारहरूको टुंगाे लगाएको हो ।
यस्ताे छ उम्मेदवारकाे नामावली :
प्रदेश १
१.देवराज घिमिरे
२.सुमित्रा भण्डारी
३.सोनाम ग्याल्जेन शेर्पा
प्रदेश २
४.अशर्फी यादव
५.बीना साह
वाग्मती
६.गोपाल शाक्य
७. निरकुमारी कुँवर
गण्डकी
८.गोविन्दबहादुर नेपाली
९.लीला पोखरेल
१०.पुन्यप्रसाद पौडेल
लुम्बिनी
११.कृष्णबहादुर सुनार
१२.भारती खनाल
१३.रामदयाल गुप्ता
कर्णाली
१४.पदमबहादुर माझी
१५.गंगाबहादुर थापा
१६.चुडामणि शर्मा
सुदूरपश्चिम
१७.नरेश बिक
१८.सन्तोषकुमारी शर्मा
१९.डिल्लीकराज भट्ट ।
काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टीको सरकारलाई बचाउनुपर्ने सेनापतिहरू प्रचण्ड र माधव नेपाल आफैँ अरुसँग बिकेकाले कम्युनिस्ट सरकार ढलेको दाबी गरेका छन् ।
शुक्रबार स्वदेश फर्किएका नेपालीहरूको भेलामा ओलीले आफ्नो हालत बंगाली नवावकाे जस्ताे भएकाे भनी चर्चा गरेका हुन् । बंगाल राज्य बचाउनुपर्नेमा अंग्रेज सरकारसँग नै सेनापति मिलेकाले बचाउन नसकिएको जस्तै अहिले आफ्नो हालत पनि त्यस्तै भएको बताए ।
अंग्रेज सरकारले बंगाललाई नियन्त्रणमा लिँदा त्यहाँको सेनापति मिर जाफरलाई जसरी किनेर प्रयोग गरेको थियो, त्यसरी नै आफ्नो पार्टीका नेताहरूले बिकेकाले आफ्नो सरकार ढलेको उनकाे भनाइ थियाे ।
आफ्नो सरकारलाई देश–विदेशी प्रतिक्रियावादी शक्तिले ढालेको उनले दाबी गरे ।
अध्यक्ष ओलीले अलिकति इमान गुमाएपछि जहिल्यै सत्तामा बस्न पाइने बताएका छन् । शुक्रबार स्वदेश फर्किएका नेपालीहरूको भेलामा बोल्दै एमाले ओलीले इमान जमान गुमाएकैले माओवादी केन्द्र जहिल्यै सत्तामा पुगेको भन्दै कटाक्ष गरे ।
‘अलिकति राजनीति इमान र जमान गुमाएपछि जहिल्यै पनि सत्तामा बस्न पाइने रहेछ । जस्तै, प्रचण्डहरू हिजो म प्रधानमन्त्री हुँदा पनि सरकारमै थिए, अहिले कांग्रेस नेतृत्वमा सरकारमा छन्,’ ओलीले भने ।
ओलीले आफ्नो पार्टीले नेपाल बनाउने दाबी पनि गरे । ‘नेकपा एमालेको नीति सही छन्, एमालेले नै देश बनाउँछ भन्नेमा तपाईहरू विश्वस्त हुनु भएको छ, यो राम्रो हो,’ उनले भने ।
यसअघि फरक प्रसंगमा ओलीले नेपाल देश जीवनमय भएकोले नयाँ बिरुवा लगाउनु नपर्ने र भएको नमास्दा मात्रै पुग्ने पनि बताए ।
‘हाम्रो देश जीवनमय देश छ । पहिले गंड्यौला, बाँदर, बाघभालु, हात्तिगैंडाको खेती पहिले कसले गर्थ्यो ? सालघारी, सिसौ, खयर कसले लगाएका हुन् ? यार्चागुम्बा कसले उमारेका हुन् ? आफैं उम्रिन्छ । निमा रुख कसले उमारे ? सबै आफैं उम्रिन्छ । झारपात आफैं उम्रिन्छ । फलफूल आफैं उम्रिन्छ’ ओलीले भने, ‘आरा बन्चरो लिएर जंगल नपस्ने हो भने दस वर्षमा देश जंगलमय भइसक्छ । बिरुवा उमार्नका लागि केही गर्नु नै पर्दैन । खाली नमासे पुग्छ ।’