Tag: प्रतिनिधिसभा निर्वाचन

  • राजनीतिमा मौलाउँदो वैचारिक नपुंसकता

    राजनीतिमा मौलाउँदो वैचारिक नपुंसकता

    सिद्धान्त, विचार, र आदर्शको कुरा गर्नेहरूबाट मानिसहरूले खोजे जस्तो परिवर्तन पाउन नसकेपछि आज-भोलि उनीहरूमा विचारप्रति नै वितृष्णा उत्पन्न भएको देखिन्छ । विचारको राजनीति गर्छु भन्नेहरूले विचारलाई अधिवेशनमा ‘श्राध्दमा बाँध्ने बिरालो’ बनाए पछि समाजमा यो अर्थहीन काम रहेछ भन्ने पर्दै गयो । यो नेतृत्वको तप्का पाखण्डी यतिबेला बन्यो जब विचारको दुरूपयोग गरी यसलाई भ्रम छर्ने साधन मात्रै बनाउने र आफैँ यसका लागि इमान्दार नहुने प्रवृत्ति झांगिदै गयो । बिस्तारै—बिस्तारै अब त त्यो ‘कर्मकाण्ड’ पनि गर्न नपर्ने भएको छ ।

    राजनीतिमा देखिएको नयाँ पुस्ताको विचार भनेको नै पुरानोलाई सत्तोश्राप गर्ने र सम्भव होस् वा नहोस्, सही होस् वा नहोस् बहुसंख्यकको प्रिय हुने कुरा गर्ने हुन गएको छ । वा, लोकप्रियतावाद नै उनीहरूको सिद्धान्त बनेको छ । पूँजीवादको शोषणलाई विकासको नाउँमा जायज ठहराएर त्यसैको अन्धानुकरण गर्ने नै यिनीहरूको नियती भएको छ । गर्दागर्दै, अब विचारको नै आवश्यकता छैन भन्ने ‘नशबन्दीय’ मानसिकताको जन्म हुन पुगेको छ, जुन अवश्य पनि दुर्भाग्यपूर्ण छ । यसो हुनुका पछाडी विश्व व्यवस्थाको प्रभाव र दबाव त छ नै यसका साथसाथै मानिसहरूमा माैलाएको चरम स्वार्थ र व्यक्तिकेन्द्रियता पनि जिम्मेवार छ ।

    यति भन्दै गर्दा अब पनि पुराना दलहरूले बोकेको विचारमा समस्या छैन, उनीहरूको नियतमा मात्रै समस्या हो भन्नु कदापी पूर्ण बुझाइ हुन सक्दैन । किनकी समस्या समाधानको नाममा पात्र तथा राज्य संरचनाको फेरबदलीले नै कुरूप इतिहास बनाइसक्दा पनि भने जस्तो चाहीँ भएन । बिडम्बना के हो भने अहिले पनि समस्या पात्रमा होइन, प्रवृत्तिमा हो भनेर बुझ्न/बुझाउन सकिएको छैन । बुझ्नै समय लाग्ने यस खराब प्रवृत्तीको निराकरण त्यत्ति सहज र रातारात हुने विषय पक्कै पनि होइन । वास्तविक समाधान नयाँ विचार र त्यसमा आधारित अभ्यासबाट मात्रै सम्भव छ । त्यसकारण समस्या पुरानो विचारलाई परिमार्जन गर्न नसक्नु वा नयाँ विचारको निर्माण गर्न नसक्नुमा छ । अथवा भनौं समस्या भनेको नयाँ विचारको अभाव नै हो । कतिपय विद्वानहरूले नयाँ विचार दिन खोजिरहेको पनि देखिन्छ, तर अहिलेसम्म सहज विकल्पको रूपमा कुनै विचार अगाडि आउन सकिरहेको छैन । यत्ति भन्दै गर्दा के कुरामा हेक्का राख्नु जरूरी छ भने विश्व पूँजीवादको भरपर्दो विकल्पको अभाव हाम्रो मात्रै होइन विश्वव्यापी समस्या हो ।

    पुराना विचारहरूप्रतिको मोहभंगको कुरा गर्दैगर्दा विद्यमान रहेका पुराना विचारहरू नै शाश्वत हुन् भन्ने जडता जुन समस्या थियो र अझै पनि छ त्यसलाई बिर्सन हुँदैन किनकी यो नै अहिलेको वैचारिक शून्यता जन्माउने प्रमुख कारक हो । यस परिस्थितिमा जडता र मोहभंग यस्ता प्रमुख कारणहरू हुन् जसका कारण एकातर्फ नयाँ विचारको निर्माण तथा बहस गर्नेतर्फ मानिसको ध्यान जान सकेको छैन वा आवश्यक ठानिएको छैन भने अर्कोतर्फ यसैको परिणाम स्वरूप वैचारिक नपुंसकताको जन्म हुन गई सामाजिक समस्या झनै गहिरिदै जाने परिस्थिति उत्पन्न भएको छ । यो अलमलमा के बुझ्न र बुझाउन सकिएको छैन भने विचारविनाको राजनीति वास्तवमा राजनीति नै हुँदैन ।

    दलाल व्यवस्था र चलनचल्तीको विकृत राजनीतिले जन्माएको नयाँ परिस्थितिमा उत्पन्न भएको यो वैचारिक नपुंसकता अहिलेको प्रमुख समस्या भएर आएको छ । यस समस्याको पटाक्षेप हो पछिल्लो चरणमा देखिएको चुनावी परिणाम । कुनै राजनीतिक आन्दोलन वा पुनर्जागरणविना नै, ‘गालीबाज’हरूको राजनीतिज्ञका रूपमा उत्थान हुनु कुनै उत्साहित हुनु पर्ने विषय होइन । विचारविहीन नेतृत्वको जन्म यो रोगी व्यवस्थाको स्वाभाविक उद्विकासको एक चरण हो । यसले कुनै राम्रो भविष्यको संकेत गर्दैन । यसले कुनै नयाँ विचार तथा कार्यक्रमहरू ल्याउनुको सट्टा उही सामाजिक क्रोधलाई भोटका रूपमा ‘क्यास’ गर्दै राजनीतिमा उदाउने प्रयास गरेको छ । यसले विचारको निर्माणमा ध्यान दिएन भने यसको अर्थ के हो भने कि त यो भविष्यमा धकेलिदै कुनै उग्र राष्ट्रवाद वा दक्षिणपन्थ विचारमा पुग्दछ र आफैँ पतन हुन्छ कि त ठूलो निराशा निम्त्याएर राष्ट्रियता नै विलुप हुन सक्ने परिस्थितिको निर्माण पनि गर्न सक्दछ ।

    अप्रत्यासित रूपमा विचार वा पार्टी होइन वास्तवमा व्यक्तिहरूको उदयले कतिपयलाई अचम्मित पनि गरेको छ । किनकी उनीहरूलाई लाग्थ्यो पुराना दलहरूको सिण्डिकेट कहिल्यै तोडिने छैन । त्यो सोचाइ गलत थियो किनकी सधैं त्यहि रहन सम्भव थिएन । यो परिवर्तन हुने दुई मात्रै तरिकाहरू थिए । पहिलो, राजनीतिक तथा चेतनाको आन्दोलनले । दोश्रो, स्वाभाविक रूपमा सामाजिक पुन:उत्पादनमार्फत जुन अहिले भएको छ । कतिपय अधिक उत्साहित पनि देखिन्छन् किनकी उनीहरूलाई लागेको छ अब परिवर्तन हुन्छ । अवश्य परिवर्तन हुन्छ तर कस्तो ? सकारात्मक परिवर्तन हुन्छ भनेर ठोस रूपमा भन्न त विजयी भएकाले पनि सकेका छैनन् । मात्र हामी इमान्दार छौं, गरेर देखाउँछौँ भन्दै छन् । वास्तवमा राजनीतिमा आएको पछिल्लो परिवर्तनको उपलब्धि नै यही रहेको छ कि उक्त सिण्डिकेट हल्लिएको छ ।

    संभावनाहरूको ढोका बन्द नगरी र उनीहरूलाई शंकाको लाभ उपलब्ध गराएर नै के भन्न सकिन्छ भने इतिहासमा नै निरस र कम सहभागिता भएको चुनावमा नागरिकको घृणा, क्रोध, र प्रतिशोधको भोटबाट उदायका पात्रहरूले सतहमा देखिएको उत्साहलाई दीर्घकालीन परिवर्तनका लागि संस्थागत गर्ने सम्भावना छैन । मात्र उमेरको लाभ छ । युवाहरू हुन्, इच्छाशक्ति भए विचारको निर्माण गरि कार्यदिशा पनि बनाउन सक्दछन् । अन्यथा अहिलेसम्म यिनीहरूको राजनीतिक लवज हेर्दा यो वास्तवमा पुराना दल तथा उनीहरूले बोकेका विचारहरूको असफलता पछि बनेको तरल र अशान्त परिस्थितिमा उत्पन्न फोका मात्रै हुने देखिएको छ ।

    यतिभन्दै गर्दा युवा भनिएको पुस्तामा एक प्रकारको आकर्षण त हो कि जस्तो देखिन्छ । यो यस्तो सोचविचाररहित आकर्षण छ कि मत दिनै पर्‍यो यसैलाई ‘दिएर हेरौं’ भन्ने जस्तो । युवा भनेपछि त्यसै राम्रो भने जस्तो मतदाताको मानसिकता देखिएको छ । यद्यपी, यो पुस्तासँग देश बनाउनका लागि चित्त बुझ्दो कुनै प्रष्ट विचार र एजेण्डा छैन । यस्तो निरस मतदानले दक्षिणपन्थी होस्, देशविरोधी नै किन नहोस्, विचार नै नबुझिएको किन नहोस्, ‘युवालाई दिए केही हुन्छ कि’ भन्ने आत्मविश्वास होइन झिनो आशा मात्रै बोकेको छ । धेरैले मत दिएर अर्थ नै के छ र ? भने जस्तो गरी मत दिने जुन अवस्था बन्यो यसले देशलाई निकास दिन सम्भव छैन । यस्तोसम्म परिस्थिति छ कि कतिपय स्थानमा कसैलाई पनि भोट दिन्न (नो भोट) भन्ने प्रावधान भएको भए त्यही खाली ठाउँले नै जित्थ्यो होला चुनाव !

    यसरी सत्तामा दोहोरिएर आउने होस् वा नयाँ होस् त्यसले कुनै निकास दिनेवाला छैन । बरू थप अस्थिरता र शक्ति संघर्ष ल्याउने देखिन्छ । जनता वाक्क भएर नयाँ अनुहारलाई सत्ताको बागडोर दिएर हेर्न चाहेका छन् । वास्तवमा यो परिवर्तनको आन्दोलन गर्ने अवसर चाँही पक्कै हो । तर यो पुस्ता झनै कम्पास नभएको जहाज जस्तो देखिन्छ । यस्तो जहाज दुर्घटना त अवश्य नै हुनेछ र दुर्घटनाको कारण अरू केही नभएर आफैभित्रको विरोधाभास र कलह हुनेछ । यो कुनै निश्चित उद्देश्यका लागि नभएर व्यक्तिहरूको व्यक्तिगत विचार र निहित स्वार्थका आधारमा चलिरहेका कारण यसले अझै ठूला सामाजिक विग्रहहरू निम्त्याउनु अस्वाभाविक हुने छैन ।

    स्थानीय निकायको निर्वाचनमा केही थान यस्ता पात्रहरू उदाए जसको न त वैचारिक जरा छ र त टुप्पो नै । उनीहरू मात्र प्रिय कुरा गर्ने र पुरानो पुस्तालाई गालीगलाैज गर्ने प्रवृत्तिका उपज हुन् । यद्यपी, स्थानीय तहमा संविधानको पालना गर्दै काम दिन सके राम्रो हो । तर, त्यसो नभएर समाजको चरित्र, विश्व राजनीति, र देश निर्माण गर्ने संकल्पको त कुरा छाडौं सामान्य आलोचनात्मक चेतको समेत अभाव भएका भुइँफुट्टाहरूको तानाशाही तमासा देख्नु परेको छ । उक्त मानसिकताले आम निर्वाचनमा पनि राम्रै प्रभाव छोडेर गएको छ । खासमा यो प्रवृत्ति पार्टीहरुभित्र मौलाउँदै गएको थियो । त्यहाँ स्थान नपाए पछि स्वतन्त्रको नाममा व्यापक भएर आएको देखियो । यसरी उदाएका र उदाउन खोजेका अनेकन पात्रहरूले तत्काललाई जनताबाट सहानुभूति र साथ पाएको जस्तो पनि देखिन्छ । यद्यपी, यिनीहरूले छोटामोटा काम गरेर क्षणिक प्रसिद्धि कमाइहाले पनि त्यो दीर्घकालीन हुन सक्दैन । केही समय पछि यिनीहरू सबैले घृणा गर्ने अझै खराब दलाल पात्र बन्ने छन् । किनकी, हाम्रो समाजको चरित्र नै दलाल हो । यसको निराकरणका लागि सुझबुझ नै नराखी र बहस नै नगरी बहुसंख्यकको तुष्टिकरणको राजनीति गर्ने यिनीहरू यही विकृत संस्कारका शिकार भई दलालीकरण हुँदै पतन हुन अभिषप्त हुनु नै पर्नेछ ।

    निष्कर्ष :
    विचारको विकल्प विचारहीनता हुन सक्दैन । यदि कसैले म कुनै विचारमा छैन भन्छ भने कि त ऊ अज्ञानी हो कि त विचलित हो । यदि नयाँ पुस्ताले आफ्नो विचार र राजनीतिक कार्यदिशा प्रष्ट पार्दैन भने यसले आफूले मात्रै राजनीतिक वियोगान्त भोग्नु पर्ने छैन बरू देशलाई नै डुबाउन सक्नेछ । उनीहरूको असफलताले लिएर आउने निरासाले देश नै धरापमा पर्ने सक्नेछ । हामीलाई नयाँ चाहिएको नै छ । पुरानोले न त हुनेवाला नै छ न त त्यो सधैं रहनेवाला नै छ । त्यसकारण समय छँदै विचार गर्नु नयाँ पुस्ताका राजनीतिज्ञ र आम जनताको कर्तव्य हुन आएको छ ।

    -deeneshonline@gmail.com

    लेखकबाट थप –

    आशा जगाउन असफल चुनावी माहोल

  • समानुपातिकतर्फ १ करोड ४ लाख मतगणना, कटाउला एकीकृत समाजवादीले ‘थ्रेसहाेल्ड’ ?

    समानुपातिकतर्फ १ करोड ४ लाख मतगणना, कटाउला एकीकृत समाजवादीले ‘थ्रेसहाेल्ड’ ?

    काठमाडाैं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड चार लाख चार हजार सात सय ६६ मतगणना सम्पन्न भएको छ ।

    निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार नेकपा (एमाले) ले २७ लाख ८३ हजार तीन सय ८८ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २६ लाख ५२ हजार छ सय २८ मतसहित दोस्रो स्थानमा रहेको छ ।

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले ११ लाख ६१ हजार आठ सय ८०, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २३ हजार ७८, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८६ हजार दुई सय ५९, जनता समाजवादी पार्टी नेपालले चार लाख २० हजार नौ सय ४३ र जनमत पार्टीले तीन लाख ९४ हजार तीन सय ८५ मत प्राप्त गरेका छन् ।

    प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एक सय ६५ क्षेत्रमध्ये एक सय ६२ क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ । स्याङ्जा क्षेत्र नं २, दोलखा र बाजुराको परिणाम आउन बाँकीे छ ।

    प्रतिनिधिसभातर्फ पछिल्लो मतपरिणामअनुसार कांग्रेस ५५ स्थानमा विजयी भएको छ भने एमालेले ४४ स्थानमा जित हासिल गर्दै दोस्रो स्थान कायम गरेको छ ।

    यस्तै, माओवादी केन्द्र १७, नेकपा (एकीकृत समाजवादी) १०, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले समान सात स्थानमा जित हासिल गरेका छन् । स्वतन्त्र पाँच, लोकतान्त्रिक समाजवादीको चार, नागरिक उन्मुक्ति पार्टी तीन, नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चा समान एक स्थानमा विजयी भएका छन् ।

  • चुनावी खर्चको असर अर्थतन्त्रमा, महंगी झन् बढ्ने

    चुनावी खर्चको असर अर्थतन्त्रमा, महंगी झन् बढ्ने

    काठमाडाैं । भारतीय आयल निगमले नेपालमा पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाए पनि नेपाल आयल निगमले इन्धनको मूल्य नघटाउने जनाएको छ । निगम अझै २७ अर्ब घाटामा भएकाले मूल्य नघटाउने निगमको भनाइ छ ।

    इन्धनको मूल्य नघट्नु भनेको महंगी कायमै रहनु हो । अर्थात्, महंगी अझै बढ्नु हो । महंगी बढ्ने कारण इन्धनको मूल्य मात्र नभइ चुनावमा भएको अरबौँ रकमको परिचालन पनि हो ।

    विज्ञहरुका अनुसार चुनावमा भएको अर्बौँ रकमको परिचालनले थप महँगी निम्त्याउने छ । निर्वाचन सम्पन्न गराउन मात्रै सरकारले २० अर्ब भन्दा बढी खर्च गरेको छ । चुनावको समयमा दल र उम्मेदवारहरूले अझै ठूलो धनराशि खर्च गरेकाछन । यसको सीधा असर अर्थतन्त्रमा समेत देखापर्नेछ ।

    एक महिनाअघि नेपाल राष्ट्र ब्याङ्कले सार्वजनिक गरेको तथ्याङ्कले महँगी दर ८.२६ प्रतिशत रहेको उल्लेख गरेको थियो । अहिले त्यो थप बढेको र चुनावपछि यसको अशर बजारमा अझ देखिनेछ । महँगी दर दोहोरो अङ्कमा पुग्नसक्ने कतिपय विज्ञहरूको धारणा छ । नेपालमा मुद्रास्फीति दोहोर अङ्कमा पुग्नसक्ने उनीहरुको बुझाइ छ ।

    युक्रेन रुस युद्धका कारण इन्धन तथा खानेकुराको मूल्य वृद्धि र अकासिएको डलरको भाउले गर्दा विश्वभर नै जीविकोपार्जनको खर्च व्यापक रूपमा वृद्धि भएको भन्दै चिन्ता बढेको छ ।

    निर्वाचनमा प्रयोग हुने सामग्रीको आयात गर्न रकम बाहिरिएको र मतदातालाई लोभ्याउन कैयौँ अनुत्पादक क्षेत्रहरूमा खर्च भएकाले यसको प्रभाव अर्थतन्त्रमा चाँडै देखिनेछ ।

    अनुत्पादनमूलक क्षेत्रमा गरिएको खर्चले खासै सकारात्मक परिणाम नदिने विज्ञहरु बताउँछन् । निर्वाचनमा भएको खर्चले थप मूल्यवृद्धि गर्ने सम्भावना देखिएको छ ।

  • दाेलखामा माओवादीका कार्कीले बढाए मतान्तर, कति ल्याए मत ?

    दाेलखामा माओवादीका कार्कीले बढाए मतान्तर, कति ल्याए मत ?

    दोलखा । दोलखामा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।

    हालसम्म चार हजार चार सय ९४ मतगणना हुँदा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गङ्गा कार्कीले दुई हजार नौ सय १० मत प्राप्त गरे ।

    उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले एक हजार एक सय ८३ मत प्राप्त गरे ।

  • समानुपातिकतर्फ १ कराेड तीन लाख बढी मत गणना, कसले ल्याए कति मत ?

    समानुपातिकतर्फ १ कराेड तीन लाख बढी मत गणना, कसले ल्याए कति मत ?

    काठमाडाैं । प्रतिनिधिसभाको समानुपातिक निर्वाचनतर्फ एक करोड तीन लाख ४६ हजार आठ सय १७ मत गणना हुँदा नेकपा (एमाले) अघि देखिएको छ ।

    निर्वाचन आयोगले अपराह्न ४ बजे सार्वजनिक गरेको मत मरिणामअनुसार २७ लाख ६१ हजार छ सय ४८ मत प्राप्त गरी एमाले सबैभन्दा अघि देखिएको हो ।

    प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फको निर्वाचनमा सबैभन्दा धेरै स्थानमा विजयी नेपाली कांग्रेस २६ लाख ३० हजार एक सय ४१ मत प्राप्त गरी समानुपातिकातर्फ दोस्रो स्थानमा रहेको छ ।

    यसैगरी ११ लाख ६० सात सय ८३ मत प्राप्त गरी नेकपा (माओवादी केन्द्र) तेस्रो र ११ लाख १४ हजार दुई सय ५८ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा रहन सफल भएको छ ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाँच लाख ८४ हजार नौ सय ६९, जनता समाजवादी पार्टी (जसपा) चार लाख २० हजार सात सय ५० र जनमत पार्टी तीन लाख ९४ हजार एक सय २९ मत प्राप्त गरी थ्रेस होल्ड कटाउन सफल भएका छन् । थ्रेस होल्ड कटाउन समानुपातिक निर्वाचनमा खसेको कूल सदर मतको तीन प्रतिशत ल्याउनु पर्नेछ ।

    प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष निर्वाचनतर्फ १० स्थानमा विजयी नेकपा (एकीकृत समाजवादी) ले दुई लाख ९३ हजार नौ सय पाँच मत प्राप्त गरेको छ ।

    नागरिक उन्मुक्ति पार्टीले दुई लाख ७१ हजार पाँच सय ६५, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले एक लाख ६७ हजार एक सय २० र नेपाल मजदुर किसान पार्टीले ७५ हजार छब्बीस मत प्राप्त गरको छ । समानुपातिकतर्फको मतगणना करिब अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ ।

  • स्याङ्जा-२ मा धनराज गुरुङ २ हजार बढी मतले अगाडि

    स्याङ्जा-२ मा धनराज गुरुङ २ हजार बढी मतले अगाडि

    स्याङ्जा । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले २ हजार बढी मत सहित अग्रता कायम गरेका छन् ।

    स्याङ्जा २ मा एमालेकी सचिव पद्मा अर्यालसँग गुरुङले २ हजार ३५ मतको अग्रता लिएका हुन् ।

    गुरुङले ८ हजार ४२ मत प्राप्त गर्दा अर्यालले ६ हजार ७ मत पाएकी छिन् ।

    निर्वाचन सम्पन्न भएको ११ औँ दिनसम्म पनि त्यहाँ गणना हुन सकेको थिएन । निर्वाचन आयोगको बुधबारको बैठकले पुन: मतदान नगर्ने निर्णय गरेपछि बिहीबारदेखि गणना भएको हो ।

  • निर्वाचनकाे १२ दिनपछि बाजुराकाे मतगणना सुरु

    निर्वाचनकाे १२ दिनपछि बाजुराकाे मतगणना सुरु

    काठमाडाैं । निर्वाचन भएकाे १२ दिनपछि बाजुरामा साढे ३ बजेदेखि सुरु भएको छ ।

    मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलका अनुसार ११ बजे बोलाएको सर्वदलीय बैठकमा जुटेको सहमति अनुसार मतगणना सुरु भएको हो ।

    मार्तडीस्थित जिल्ला प्रशासन कार्यालयको नवनिर्मित भवनमा मतगणना भइरहेको छ ।

    निर्वाचनकाे दिन मंसिर ४ गते सत्तारुढ गठबन्धन र नेकपा एमालेबीच विवाद बढेपछि बाजुरा दिनभरि तनावग्रस्त बनेकाे थियाे ।

    स्थितिलाई नियन्त्रणमा लिन नौ वटा स्थानीय तह रहेको बाजुरामा सबैजस्तो पालिकामा हवाई फायर गर्नुपरेको स्थानीय प्रशासनले बताएकाे थियाे ।

    जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ स्थित नाटेश्वरी मतदान केन्द्रमा मतदान सकिने बेलामा मतदानस्थलमा फर्जी मत कसले खसायो ? भन्ने विषयमा सत्ता गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच विवाद चर्कियो । दुई पक्षीय झडप भयो । मतपेटिका खोसाखोसको अवस्था सिर्जना भएपछि स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउनु परेको थियाे । सुरक्षाकर्मीले चलाएको गोलीले सोही ठाउँका २६ वर्षका सञ्जिव एडीको मृत्यु भयो । प्रहरीसहित केही घाइते भएका थिए ।

    त्यसपछि जिल्लाको अवस्था झनै तनावग्रस्त बन्यो । सोही मतदान केन्द्रमा अनेरास्ववियुका केन्द्रीय सदस्य रहेको चेतन अयडी नेकपा एमालेका तर्फबाट मतदान प्रतिनिधि थिए ।

    मतदान सकिएपछि कांग्रेसका कार्यकर्ताबाट उनलाई घरमै गएर निर्घात कुटपिटपछि उनको मृत्यु भएकाे थियाे ।

    बाजुरामा मुख्य प्रतिस्पर्धा सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार बद्री प्रसाद पाण्डे र नेकपा एमालेका उम्मेदवार एवं सुदूरपश्चिम अध्यक्ष समेत रहेका कर्ण थापाबीच मुख्य चुनावी प्रतिश्पर्धा भइरहेको छ ।

    त्यस्तै, राप्रपाको जंगकुमार गिरी, जन समाजवादी पार्टी नेपालका रामबहादुर शाही र स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवाल पनि प्रतिस्पर्धामा छन् ।

  • बाजुरामा साढे ३ बजेबाट मतगणना सुरु हुने

    बाजुरामा साढे ३ बजेबाट मतगणना सुरु हुने

    काठमाडौं । बाजुरामा साढे ३ बजेबाट मतगणना सुरु हुने भएको छ ।

    १० दिनदेखि रोकिएको मतगणना बिहीबार दिउँसो साढे ३ बजेबाट सुरु गर्ने निर्णय भएको हो ।

    जिल्ला मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले डाकेको सर्वदलीय बैठकमा साढे ३ बजेबाट मतगणना सुरु गर्ने निर्णय भएको हो ।

    यसअघि बुधबार नै मतगणना गर्ने तयारी थालिएको थियो । यद्यपि नेकपा एमालेका प्रतिनिधि सर्वदलीय बैठकमा नआएपछि मतगणना अनिश्चित बनेको थियो ।

  • प्रतिनिधिसभा सदस्यमा १९ प्रतिशत आदिवासी जनजाति निर्वाचित

    प्रतिनिधिसभा सदस्यमा १९ प्रतिशत आदिवासी जनजाति निर्वाचित

    काठमाडाैं । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि हालसम्म १६२ स्थानको मतपरिणाम सार्वजनिक भइसकेको छ । दोखलाका १० मतदान केन्द्रमा आज पुनः मतदान जारी छ भने स्याङ्जामा मतगणना जारी छ ।

    हालसम्मको मतपरिणाम अनुसार प्रतिनिधिसभा सदस्यमा निर्वाचित ३१ जना अर्थात् करिब १९ प्रतिशत आदिवासी जनजाति छन् ।

    जसअनुसार नेकपा (एमाले)का तर्फबाट धनकुटा–१ बाट राजेन्द्रकुमार राई, पाँचथर–१ बाट वसन्तकुमार नेम्वाङ, सोलुखुम्बु–१ मा मानवीर राई, खोटाङ–१ मा रामकुमार राई, इलाम–२ बाट सुवास नेम्वाङ, झापा–४ बाट लालप्रसाद साँवा लिम्बू निर्वाचित भएका छन् ।

    साथै, एमालेका तर्फबाट सिराह–३ बाट लिलानाथ श्रेष्ठ, काठमाडौँ–९ बाट कृष्णगोपाल श्रेष्ठ, ललितपुर–२ बाट प्रेमबहादुर महर्जन, कास्की–१ बाट मनबहादुर गुरुङ, लमजुङ–१ बाट पृथ्वीसुब्बा गुरुङ, कञ्चनपुर–१ बाट तारा लामा तामाङ गरी जम्मा १२ जना निर्वाचित भएका छन् ।

    प्रतिनिधिसभा सदस्यमा आदवासी जनजातिमा नेपाली कांग्रेसका तर्फबाट तेह्रथुम–१ मा सीता गुरुङ, मोरङ–१ मा डिगबहादुर लिम्बू, रामेछाप–१ मा पूर्णबहादुर तामाङ, मनाङ–१ मा टेकबहादुर गुरुङ र मुस्ताङ–१ मा योगेश गौचन थकाली निर्वाचित भएका छन् ।

    नेकपा (माओवादी केन्द्र) का बाट भोजपुर-१ मा सुदन किराँती, काभ्रेपलाञ्चोक-१ मा सूर्यमान तामाङ (दोङ), नुवाकोट–१ मा हितबहादुर तामाङ, रुकुमपूर्व-१ मा पूर्णबहादुर घर्तीमगर, रोल्पा १ मा वर्षमान पुन, हुम्ला १ मा छिरिङ डम्डुल लामा ९भोटे० निर्वाचित भएका छन् ।

    त्यसैगरी नेकपा (एकीकृत समाजवादी) का तर्फबाट डोटी-१ मा प्रेमबहादुर आले, बारा-४ मा कृष्णकुमार श्रेष्ठ, डोल्पा–१ मा धनबहादुर बुढा, दैलेख-१ मा अम्मरबहादुर थापा गरी चार जना सदस्य छन् ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीबाट झापा-१ मा राजेन्द्रप्रसाद लिङ्देन र जनता समाजवादी पार्टी, नेपालका तर्फबाट सुनसरी-१ मा अशोककुमार राई निर्वाचिन भएकाे निर्वाचन आयोगले जनाएको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौँ-८ मा विराजभक्त श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीबाट कैलाली १ बाट निर्वाचित रञ्जिता श्रेष्ठ पनि आदिवासी जनजाति हुन् ।

  • समानुपातिकमा कुन दलले पाए कति मत ? (अपडेट)

    समानुपातिकमा कुन दलले पाए कति मत ? (अपडेट)

    काठमाडाैं । ४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ ।

    पछिल्लो मतपरिणाम अनुसार समानुपातिकतर्फ नेकपा एमालेले आफूलाई पहिलो दलको रुपमा स्थापित गरेकाे छ । निर्वाचन आयोगकाे पछिल्लाे मतपरिणाम अनुसार एमालेले २७ लाख ३१ हजार २ सय ८२ मत समानुपातिकतर्फ प्राप्त गरेको छ ।

    सत्तारुढ दल नेपाली कांग्रेस दोस्रो दल बनेको छ । उसले २६ लाख ३ हजार ३८ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

    त्यस्तै, नेकपा माओवादी केन्द्र ११ लाख ५५ हजार ४५ मतसहित तेस्रो स्थानमा छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ७ हजार ७ सय ४० मत प्राप्त गर्दै समानुपातिकतर्फ चौथो ठूलो दल बनेको छ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८१ हजार १ सय ३, जनता समाजवादी पार्टी, नेपालले ४ लाख १६ हजार १ सय ८६, जनमत पार्टीले ३ लाख ८६ हजार ९६ मत प्राप्त गरेको छ ।

    सत्तारुढ नेकपा एकीकृत समाजवादीले भने ३ लाख मत कटाउन सकेको छैन । पछिल्लो मतपरिणाम अनुसार एकीकृत समाजवादीले २ लाख ९२ हजार ६ सय ३ मत प्राप्त गर्दै आठौं स्थानमा छ ।