योग दिवस- सांस्कृतिक गौरवको उत्सव

अन्तर्राष्ट्रिय योग दिवस विशेष महत्त्वका साथ विश्वभरि मनाइँदै छ । मानिसहरूमा योगप्रति अपार श्रद्धा, उत्साह र जिज्ञासा उत्पन्न भएको छ । यद्यपि, योगलाई उत्सवका रूपमा मानव समुदायले अङ्गिकार गरेको धेरै भएको छैन । अन्तर्राष्ट्रिय योग दिवस सन् २०१५ जुन २१ देखि मनाउन थालिएको हो । योग दिवस एउटा नयाँ उत्सव भए पनि योग अति प्राचीन कला हो । यसको उद्भव खोज्दै जाँदा प्राचीन वैदिक कालसम्म त अवश्यै पुग्न सकिन्छ ।

यस जीवनोपयोगी विद्याका आविष्कारक कुनै एक व्यक्ति होइनन् । यो त असङ्ख्य ‘रिसर्चर’अर्थात् जीवनलाई मङ्गलमय बनाउने उद्देश्यका साथ अनुसन्धानमा लागेको यशस्वी ऋषिहरूको अनुभव-पोषित मेधाको प्रतिफल हो । योग ऋषि–संस्कृतिको देन हो । आर्ष ऋषिहरूले विनियोग गरेको योगलाई आज विश्व समुदायले आफ्नो जीवनको दैनिकीमा समावेश गरेको छ । शारीरिक एवं मानसिक स्वास्थ्यका लागि सबैभन्दा उपयोगी अभ्यासका रूपमा विश्वका असङ्ख्य मानिस योगको शरणमा आएका छन् । सनातन धर्मका प्राचीन वैज्ञानिकहरूद्वारा सिर्जित यस्तो दिव्य अभ्यासलाई विश्वले अङ्गिकार गरेर व्यक्तिगत, पारिवारिक एवं सामाजिक जीवनलाई अमृतमय बनाउने सत्प्रेरणा लिनु— हाम्रा लागि यो सांस्कृतिक गौरवको उत्सव हो ।

‘भक्त’ नभएर विभक्त हुनुको परिणाम

हामी ‘माता भूमि पुत्रोऽहम् पृथिव्याः’ भनी उद्घोष गर्ने मेधावी ऋषिहरूका सन्तति हौँ । सृष्टिको उषाकालमै समग्र पृथ्वीलाई माता भनी सम्बोधन गर्न सिकाएको हाम्रो संस्कृतिले दैनिक जीवनको उषाकालमा पनि कुल्चनुअघि धरती मातासित क्षमा माग्न सिकाएको छ । उठेर पहिले हामी ‘समुद्र वसने देवी पर्वतस्तन मण्डले, विष्णुपत्नी नमस्तुभ्यं पादस्पर्शं क्षमस्वमे’ भन्दै अपरिहार्य दोषका लागि क्षमा माग्दछौँ । तर, कता–कता मानवले आफ्नो मनुजता बिर्सँदै गएर पो हो कि ! आफू स्वयंले श्रेष्ठ आचरण गरेर समग्र अस्तित्वलाई नै श्रेष्ठ बनाउने भक्तिभावयुक्त परम्पराबाट विभक्त हुँदै जानुको परिणामस्वरूप आज विश्व नै त्रस्त हुनेगरी महामारी फैलिएको छ ।

ज्ञात विज्ञान अनुसार ब्रह्माण्डमा मानव निवासका लागि उपयुक्त वातावरण भएको एकमात्र ग्रह, हाम्रो गृह ‘पृथ्वी’ हो । यिनले निवास दिएको ठाऊँमा कतै हामीले विनाश त दिइरहेका छैनौँ ? ‘हे मानव, आफूलाई नियाल । आत्म चिन्तन गर र कहाँ चुक्दै छौ, बुझ’ भनेर नै हो कि एउटा सूक्ष्म विषाणुले मानवको विराट अहंकारलाई ध्वस्त पार्ने प्रयास गरेको ?

कोरोना नामको विषाणुबाट पीडित विश्वको ध्यान आज अक्सिजनमा छ । यो महामारीले अधिकांश फोक्सो र श्वसन तन्त्रमा विपरीत प्रभाव पार्ने गरेको छ । एउटा सूक्ष्म विषाणुले धेरैको ज्यान लिइसकेको छ । प्राणवायुका लागि हाहाकार मच्चिएको छ । यो परिदृश्यले के सङ्केत गरिरहेको छ भने मानवले यो सङ्कट आफै निम्त्याएको हो । विकासका नाममा वृक्ष–वनस्पतिको विनाशबाट पर्यावरणलाई अपरिमित हानी पुगेको छ । पर्यावरणमा अक्सिजन अर्थात् प्राणवायुको स्रोत भनेकै रुख–बिरुवा हुन् । आफ्नो स्वार्थपूर्तिका लागि मानव नै दानव बनेर वन–विनाश गर्छ भने त्यसको परिणाम त भोग्नैपर्छ । आफैले थालेको विनाशलीलाको अपरिहार्य पाटो बनेर यो विकराल समस्या हामीमाथि नै खनिएको छ ।

प्राणवायुको अभावमा जीवन चल्दैन । प्राण रक्षाका लागि अक्सिजन अपरिहार्य तत्त्व हो । यसैले आज अक्सिजन आपूर्तिको विषय शीर्ष महत्त्वमा रहेको छ । सामान्य विज्ञानले बताउँछ, अक्सीजन वायुको महत्त्वपूर्ण घटक हो । सामान्यतः वायुमा २० प्रतिशत अक्सिजन ग्यास हुन्छ । प्रदूषित वायुमा यसको मात्रा अझ कम हुन्छ । शुद्ध वायु जीवनका लागि अपरिहार्य छ । वायुको अभावमा जीवनको आयु पनि घटेर जान्छ । यो कुरा विज्ञानमा पढाइयो तर व्यवहारमा पढाइएन ।

वायुको कुनै विकल्प छैन । यो कुरा आधुनिक विज्ञानमा प्रमाणित हुनुभन्दा निकै पहिले, प्राचीनकालका द्रष्टा ऋषिहरूले बुझेका थिए । वैदिक कालका हाम्रा पूर्वजले वायुलाई आदरणीय देवताको संज्ञा दिएका थिए । बहुवचन प्रयोग गरेर ‘मरूद्गण’ नाम वायुलाई नै दिइएको हो । ऋग्वेदको एउटा मन्त्रमा वायुलाई मधुरसले परिपूर्ण भनी स्वीकारिएको छ— मधुवाता ऋतायते । मधुको अर्थ यहाँ आनन्ददायी, सुखकारी र श्रेयस्करका रूपमा आएको छ । उपनिषद्हरूमा पनि वायुको विज्ञानलाई रेखाङ्कित गरिएको छ । सबै प्राणीबाट प्राप्त हुने मधुर रसका रूपमा वायुको चित्रण र वायुका कारण नै सबै प्राणीमा सरसता आउने कुरा उपनिषद्का ऋषिले उल्लेख गरेका छन् । वायु यद्यपि प्रकृतिको घटक हो । यो ईश्वरीय प्रसाद हो । सबै प्राणीलाई वायु निःशुल्क उपलब्ध छ । तर प्रसादलाई प्रसादका रूपमा आदर नगरे त्यो विशाद र अवशादको कारक पनि बन्न सक्छ भन्ने हेक्का मनुष्य जातिले नराख्दा आज त्रासको वातावरण सिर्जना भएको हो । यस परिस्थितिमा विश्व त्राहि त्राहि गरिहेको छ ।

समाधान— योगमय हिन्दू जीवनदृष्टि

योगको अर्थ हो जोड्नु । हठयोग अथवा आज जति आसन र प्राणायामहरू प्रचलित छन्, यी सबै योगको एउटा पाटो मात्र हो । वास्तवमा योग भन्नु व्यष्टि मानिसदेखि सृष्टि र सृष्टिकर्ता परमेष्टिको एकात्मताको अनुभूति हो । यी सबै कुरा एउटा तत्त्वमा, एउटै सूत्रमा आबद्ध छन् भन्ने बोध हुनु र त्यही कुरा आचरणमा ल्याइनु योग हो ।

हिन्दू दर्शन एकात्म विश्वदृष्टिमा विश्वास गर्छ । यो सम्पूर्ण सृष्टि, प्रकृति, पर्यावरण एक अन्योन्याश्रित एवं अविभाज्य अङ्ग झैँ काम गर्दछ भन्ने एकात्मताको चिन्तन हाम्रै वैदिक विज्ञान हो । हिन्दू मनीषीहरूले प्रकृतिलाई दिव्य र चेतन तत्त्वको रूपमा स्वीकारेका छन् । हिन्दुत्वले प्रकृतिमा सहअस्तित्व, सामञ्जस्य र सौहार्दताका साथै मातृत्वको भावयुक्त सम्मानमा जोड दिन्छ । हिन्दू चिन्तनमा प्रकृतिसँग संघर्ष या प्रतिद्वन्द्वितालाई कुनै स्थान छैन । यहाँ वृक्ष–वनस्पतिलाई पूजन गरिन्छ । पूजाको अर्थ गन्ध, अक्षता अथवा जल अर्पण गर्नु मात्र होइन । वृक्ष–वनस्पतिको महत्त्वलाई हृदयङ्गम गरी त्यसको रक्षाका निम्ति अनुकूल जीवनशैली अपनाउनु वास्तविक पूजा हो । वर्तमान समयमा मानव स्वास्थ्य तथा प्रकृति एवं पर्यावरणमा देखिएको समस्याको समाधानका निम्ति हाम्रो समृद्ध हिन्दू संस्कृतिले धेरैअघि नै समन्वयात्मक जीवनदृष्टि प्रदान गरिसकेको छ । यस विराट हिन्दू चिन्तनबाट हामीले व्यावहारमा ल्याउनै पर्ने दुईवटा महत्त्वपूर्ण पक्ष हुन् योगमय जीवन एवं प्रकृतिप्रति उपासना भाव ।

योगमय जीवन एवं प्रकृतिप्रति उपासना भाव—

  • घरको मन्दिरमा बिहान साँझ घिउको दियो बाल्नु,
  • आँगनमा रहेको तुलसीमा नियमित जल चढाउनु,
  • स्थानीय गाईको गोबरले भूमि लिप्नु,
  • कपूरसहितको आरती गर्नु,
  • अग्निहोत्र गर्नु,
  • गाईको सेवा गर्नु

यी सबै हाम्रा घरमा नित्य गरिने धर्माचरणका कृत्य थिए । यी स्वतः विषाणुरोधी परम्परा थिए ।

बाटाछेऊ, मन्दिर परिसर अथवा खुल्ला स्थानमा बर–पीपल, नीम, बेल जस्ता वृक्ष रोप्नु, तिनको सेवा गर्नु, रक्षण र संवर्धनमा ध्यान दिनु समग्रमा पर्यावरणको हितचिन्तन नै थियो । समय छँदै प्राणवायु—अक्सिजनको जोहो पनि हो यो ।

समयक्रममा हामीले यस्ता परम्परालाई बिर्सियौँ । कतिपय प्रसङ्गमा यी उपहासका विषय पनि नबनेका होइनन् । घरको केन्द्र, भोजनालयलाई नीम, बेसार, अदुवा, गुर्जो जस्ता प्राकृतिक वस्तुको साटो डिब्बामा बन्द गरिएका अप्राकृतिक वस्तुहरूले भर्दैगयौँ । खानपानको अनियमितताले मन र शरीर निकै थिलथिलो बनेको अवस्थामा त हो कुनै पनि सङ्क्रमणबाट बच्न नसकिने !

त्यस्तै, शौचका नियमको पालन गर्नु, यथा— बाहिरबाट घर प्रवेश गर्नुअघि हात–गोडा धुने, भोजन गर्न बस्दा आफू स्वच्छ भई जुत्ता फुकालेर, लुगा फेरेर बस्ने आदि व्यवस्था व्यक्ति मात्र नभएर समग्र परिवारकै लागि कति महत्त्वपूर्ण रहेछ भन्ने कुराका संज्ञान पछिल्ला वर्षमा कोरोना सङ्कटले गराएको छ । भोगवादी पाश्चात्य जीवनको अन्धानुकरणले हाम्रो ऋषि–दृष्टिलाई छोपेको अवस्था थियो । अब त्यो दिव्य दृष्टि उघारिनुपर्छ । चेतनाको दियो झलमल्ल बालिनुपर्छ । प्रकृतिसँगको घनिष्ठ र समन्वयपूर्ण सम्बन्ध र दैनिक जीवनमा योग, आयुर्वेद, शाकाहार आदिले जीवन स्वस्थ, सहज र सुन्दर बन्छ भन्ने कुरा पनि हामीले आजीवन स्मृतिमा राख्दै यस परम्परालाई भावी पुस्तमा हस्तान्तरण गर्न अनिवार्य भइसकेको छ । यसैमा योग दिवस मनाउनुको सार्थकता छ । यही व्यवहारबाट व्यक्ति, परिवार, समाज र समग्रमा संसारकै कल्याण हुने प्रार्थना— ‘लोकाः समस्ता सुखिनो भवन्तु’ हामीबाट मुखरित हुनेछ ।

© 2022 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७