२ दिन लगातार बढेकाे सेयर बजार मंगलबार ४५ अङ्कले घट्यो

काठमाडाैं । आइतबार र सोमबार उच्च अङ्कले बढेको शेयर बजार मंगलबार घटेको छ । शेयर बजार परिसूचक नेप्से मंगलबार ४४ दशमलव ८० अङ्कले घटेर दुई हजार ८८ दशमलव १६ विन्दुमा झरेको छ ।

सबै समूहको शेयर घटेर बजार राताम्मे देखिएको छ । बजारसहित कारोबार सङ्ख्या र रकम पनि घटेको छ ।

मंगलबार २ सय २२ वटा कम्पनीका ८७ लाख ४० हजार कित्ता शेयर तीन अर्ब ७० करोड ४९ लाख रुपैयाँमा कारोबार भए ।

सबैभन्दा धेरै शिवम् सिमेन्टको १९ करोड ३६ लाख र अरुण काबेली हाइड्रोको १५ करोड ५७ लाख रुपैयाँको शेयर किनबेच भयो ।

मंगलबार गणपति लघुवित्त कम्पनीको शेयर झन्डै सात प्रतिशतले घटेको छ । रिभर फल्स पावर कम्पनी, सबैको लघुवित्त, पोखरा फाइनान्स र गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।

समग्रमा बजार राताम्मे भए पनि मल्टिपर्पोज फाइनान्सको शेयर ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१