भारतकाे सहयाेगमा तनहुँमा बनेकाे विद्यालय भवनकाे उद्घाटन

काठमाडाैं । भारत सरकारको अनुदान सहयोगमा तनहुँ जिल्लाको घिरिङ गाँउपालिकामा रहेकाे दिपक माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएकाे छ ।

भारतीय राजदूतावासका प्रथम सचिव डा. साहिल कुमार र जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले उक्त भवनकाे आइतबार उद्घाटन गरेका हुन् ।

भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा २ करोड १ लाख ९० हजारको लागतमा उक्त भवनको निर्माण भएको हो ।

यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “India@75 आजादीका अमृत महोत्सव” अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ परियोजनाहरु मध्येको एक हो ।

सन् १९७५ मा प्राथमिक विद्यालयको रुपमा स्थापना भएको यस विद्यालय सन् २००० मा माध्यमिक विद्यालयको रुपमा स्तरोन्नति भएको हो ।

यस विद्यालयमा १८० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् जसमध्ये ६० प्रतिशत छात्रा छन् । भारतको सहयोगमा भएको यस नयाँ संरचनाको निर्माणले विद्यार्थीहरुलाई राम्रो शैक्षिक वातावरण प्रदान गर्ने विश्वास लिइएकाे छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१