भारतको सहयोगमा सुनसरीमा दुईवटा विद्यालय परियोजनाको उद्घाटन

काठमाडाैं । भारत सरकारको अनुदान सहयोगमा सुनसरी जिल्लामा दुईवटा विद्यालय परियोजनाको उद्घाटन गरिएकाे छ ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र नेपाल सरकारका माननीय सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरी जिल्लामा दुईवटा विद्यालय परियोजनाको संयुक्त रुपमा उद्घाटन गरे ।

यी दुई परियोजनामा नेपाल पुलिस स्कुलका लागि निर्मित विद्यालय भवन, छात्रावास भवन तथा खेलकुद मैदान र श्री महेन्द्र माध्यमिक विद्यालयको नवनिर्मित विद्यालय भवन रहेका छन् ।

भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा ४ करोड ८९ लाख रुपैयाँको लागतमा जिल्ला समन्वय समिति सुनसरीले यी दुई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयन गरेको हो ।

यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “India@75 आजादीका अमृत महोत्सव” अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ परियोजनाहरु मध्येको एक हो ।

सन् २००३ यता भारतले नेपालमा ५३२ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै वटा प्रदेशमा ४७५ वटा परियोजना सम्पन्न भइसकेका छन् । ती मध्ये सुनसरी जिल्लाका १२ गरी प्रदेश नं. १ मा ८० वटा रहेका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१