विद्यालय बन्दको निर्णय फिर्ता लिन नेपाल विद्यालय कर्मचारी परिषदलाई एनसीई नेपालको आग्रह

काठमाडौं । आफ्ना माग पूरा गर्नका लागि विद्यालय बन्द गर्ने नेपाल विद्यालय कर्मचारी परिषद्को निर्णयप्रति शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीई नेपाल) ले दुःख व्यक्त गरेको छ ।

साथै, अभियानले आन्दोलनका अरु नै तरिका अपनाउन र विद्यालय बन्द तत्काल फिर्ता लिन नेपाल विद्यालय कर्मचारी परिषद्सँग आग्रह पनि गरेको छ ।

परिषद्को जायज मागप्रति समर्थन रहेको बताउँदै अभियानका अध्यक्ष डिल्लीराम सुवेदीले भनेका छन्, ‘हामीले आफ्ना अधिकार प्राप्तिका लागि संघर्ष गर्दैगर्दा बालबालिकाको निर्वाधपूर्ण पढ्न र सिक्न पाउने अधिकारको हनन् गर्न हुँदैन ।’

अभियानले आन्दोलनमा उठाइएका विद्यालय कर्मचारी एवं कार्यालय सहयोगीको पेशागत हकहित र सुरक्षासम्बन्धी मागलाई सम्बोधन गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको ध्यानाकर्षण पनि गराएको छ ।

नेपाल विद्यालय कर्मचारी परिषद्ले विद्यालय कर्मचारी एवं कार्यालय सहयोगीको पेशागत हकहित र सुरक्षासम्बन्धी माग राखेर यही भदौ १२ देखि १८ गतेसम्म सामुदायिक विद्यालय बन्दको घोषणा गरेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१