रुसी सेनालाई जेलन्स्कीकाे कडा चेतावनी : बाँच्ने चाहना छ भने युक्रेन छाेडेर भाग

काठमाडौं । युक्रेनले यतिबेला रुसी कब्जामा रहेको दक्षिणी युक्रेन क्षेत्रमा सशक्त आक्रमण थालेको छ ।

खेरसन क्षेत्रमा बृहत सैन्य क्षमताका साथमा युक्रेनले रुसी सेनाविरुद्ध आक्रमण थालेपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गएकाे सोमबार राति चेतावनीपूर्ण भाषामा सन्देश छाडेका छन् ।

उनले रुसी सेनालाई युक्रेन छाडेर भाग्न सल्लाह दिँदै यदी उनीहरुले युक्रेनी भूमि नछाडेको खण्डमा मृत्यु वरण गर्ने बताएका छन्।

‘यदी बाँच्ने चाहना छ भने रुसी सेनाहरु भागे हुन्छ । घर जाउ’ उनले भनेका छन्,‘युक्रेनले आफ्नो भूमि फिर्ता लिँदैछ ।’

यद्यपी जवाफमा रुसी सरकारका प्रवक्ताले युक्रेनमा योजनाअनुसार नै सैन्य अभियान चलिरहेकाले आफ्नो उद्देश्य पुरा हुने बताएका छन् ।

रुसले गत फेब्रुअरी २४ यता लगातार आक्रमण थालेको छ। आक्रमण सुरु भएको ६ महिना पुरा हुँदा पनि युक्रेन रुससँग झुक्न मानेको छैन ।

अमेरिका लगायत पश्चिमा राष्ट्रले हतियार सहयोग गरिरहँदा यतिबेलासम्म युक्रेनले रुसको सामना गरिरहेको छ। पछिल्लो समय त युक्रेनले रुसी सेनाहरुलाई धेरै स्थानबाट लखेट्न पनि सफल भएको छ ।

रुसले सन् २०१४ मै कब्जा गरेको क्राइमियामै पनि युक्रेनले आक्रमण गर्न थालेको छ। हालै क्राइमियाको रुसे सैन्य बेसमा क्षेप्यास्त्रहरु प्रहार भएका थिए ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७