देशमा राष्ट्रहितमा काम गर्ने मान्छे कोही छैन : जगत गाैचन (भिडिओसहित)

काठमाडाैं । पूर्व मन्त्री एवम् राप्रपाका नेता जगत गौचनले देश जोगाउन राजसंस्था र हिन्दू राष्ट्र कायम गर्नुको विकल्प नभएको बताएका छन् ।

हुलाक सञ्चारसँग कुरा गर्दै नेता गौचनले मुलुक गणतन्त्रमा प्रवेश गरेसँगै राष्ट्रवादीहरुलाई छानीछानी सिध्याउने खेल अझै जारी रहेको बताए । देशमा सामान्य नागरिक भएर बाँच्न पनि विदेशीको छत्रछायाँ आवश्यक रहेको बताउँदै उनले गणतान्त्रिक शक्तिहरु भारत, अमेरिका र चीनको गोटी भएको आरोप लगाए ।

२०६५ साल जेठ १५ गते गणतन्त्र घोषणा भएको दिन गणतन्त्रको विरोधमा जुलुस निकाल्ने आफू पहिलो व्यक्ति भएको स्मरण गर्दै गौचन भन्छन्, ‘ त्यस्तो प्रतिकुल परिस्थितिमा मैले गणतन्त्रको विरोधमा जुलुस निकाले । गणतन्त्र देशका लागि घातक छ भन्ने मेरो दृष्टिकोण हो । आज देशभर राजसंस्थाको पक्षमा आवाज बुलन्द भैरहेको छ । यो सबै मैले बनाएको बाटो, आज पूरा देश मैले कोरोको मार्गचित्रमा अघि बढिरहेको छ । ’

राजसंस्था पुनस्र्थापना र हिन्दु राष्ट्र कायम गर्न राप्रपा चुनावपछि भीषण आन्दोलनमा जाने उनले बताए । सुरुमा भदौ असाेज भित्र वारपार गर्ने गरी आन्दोलनको तयारी गरेपनि पार्टीले पछि रणनीति फेरेर चुनावमा जाने निर्णय गरेको उनले बताए ।

गौचन भन्छन्, ‘युद्धमा कहिले दुई कदम अघि त कहिले दुई कदम पछि भइन्छ । चुनावलाई पनि युद्धको रणनीतिको रुपमा हामीले बुझेका छौँ । यसलाई अन्यथा लिन जरुरी छैन । ’

राप्रपाले एमालेसँग चुनावी सहकार्यबारे छलफल गरेपनि कुनै निर्णय गरेको छैन । गणतान्त्रिक शक्तिहरुसँगको गठवन्धनलाई राप्रपाले आफ्नो मूल्य मान्यता र सिद्धान्त त्यागेको भन्न नमिल्ने उनको राय छ ।

गौचनका अनुसार सत्ता गठवन्धन अमेरिका र भारतको रोडम्यापमा हिंडिरहेको छ । एमसीसी, एसपीपी, नागरिकता विधेयकलगायतका मुद्दा भारत र अमेरिकाकै हुन् ।

पछिल्लो समय एमाले भने चीनको निकट छ । एमालेलाई चीनले आफनो लाइनमा हिँडाउन खोजेको छ । सकभर बामशक्तिलाई एकजृुट गराउने प्रयास चीनको छ । आफनो पार्टी राप्रपामा भने हालसम्म कुनै विदेशी प्रभाव नपरेको गौचनको दाबी छ ।

आगामी चुनावमा म्याग्दीबाट प्रतिष्पर्धा गर्ने तयारीमा रहेका गौचन अनुभवी र पाका नेतालाई राजनीतिबाट बढार्ने अभियानको भने विरोधमा छन् । युवाका नाममा अनुभवी र मुलुकका लागि ठूलो योगदान दिएका नेताहरुको अवमूल्यन गर्न नहुने उनको भनाइ छ ।

गौचन भन्छन्, ‘युवा भनेको विचार हो । सोच हो । दृष्टिकोण हो, उमेर होइन । हाम्रो पार्टी राप्रपामा म लगायत पशुपतिशम्शेर राणा, डा. प्रकाशचन्द्र लोहनी युवा हौं । हामी चुनाव लड्छौं र जितेर देखाउँछौं । हामीलाई वृद्ध भनेर कसैले अवहेलना गर्नु भएन ।’

विस्तृत भिडिओमा :

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७