काठमाडाैं ६ मा बाजी मार्ने योजनामा युवा राजनीतिज्ञ अब्दुस मियाँ (भिडिओसहित)

काठमाडाैं । विवेकशील साझा पार्टीबाट अलग भइ स्वतन्त्र भएका युवा राजनीतिज्ञ अब्दुस मियाँ काठमाडौं ६ बाट उम्मेदवार बन्दैछन् । मुलुकको कानुन बनाउने सांसद दलीय नियन्त्रणमा रहनु हुँदैन भन्ने मान्यताकासाथ आफू स्वतन्त्र भएको उनी बताउँछन् ।

मियाँ भन्छन्, ‘म जित्नका लागि उम्मेदवार बन्ने हो । अहिले काठमाडौंका मात्र नभइ देशभरका मतदाता सचेत छन् । मुलुकमा स्थापित राजनीतिक दल र यीनका नेताहरुबाट परिवर्तन सम्भव छैन । आफनो विवेक पार्टी र नेताको घरमा बन्धकी राखेर कुनैपनि सांसदले काम गर्न सक्दैन । यो अभ्यास र परम्पराको मार मुलुकले सहनु परेको छ । यो कुरा आमजनताले बुझिसके । यसको ज्वलन्त उदाहरण स्थानीय तहको निर्वाचन नै हो । बडेमानका पार्टी र उम्मेदवारहरुलाई स्वतन्त्र उम्मेदवारले पछारिदिएका छन् । ’

आफनो निर्वाचन क्षेत्रमा अन्य स्वतन्त्र उम्मेदवारको चर्चा चलेपनि अन्ततः आफूहरुबीच सहमति हुने उनको विश्वास छ । दलका उम्मेदवारप्रति भने मतदातामा वितृष्णा भएकाले उनीहरु आफ्ना प्रतिष्पर्धी हुन नसक्ने उनको दाबी छ ।

ठूला भनिएका राजनीतिक दल र नेताहरुले जारी गर्ने घोषणापत्र जस्तो ‘पपुलिष्ट’ र ‘देखावटी’ कुराको एजेण्डा आफूसंग नभएको मियाँ बताउँछन् । सर्वसाधारणको उन्नत जीवन, आवश्यकताको पूर्ती, आत्मसम्मान, बेरोजगारी अन्त्य, देश विकास, देशको सार्वभौमिकता, राष्ट्रियताका विषय आफना मुख्य मुद्दा भएको उनी बताउँछन् ।

नेपालको शिक्षा, स्वास्थ्य, संचार लगायतका क्षेत्रमा आमुल परिवर्तन आवश्यक भएकाले त्यसका लागि योजनाबद्ध रुपमा काम गर्ने आँट र योजना आफूसंग मियाँको भनाइ छ ।

‘विद्यमान संविधान भित्रै बसेर संरचनागत त्रुटी सच्याउन सक्यो भने पनि धेरै हुन्छ । गणतन्त्र, धर्मनिरपेक्षता जस्ता मुद्दामा धेरै विवाद गर्नुभन्दा केन्द्रदेखि स्थानीय तहसम्म तलब मात्र खाने राजनीतिक एवम प्रशासनिक निकाय र प्रतिनिधिको कटौती गर्नुपर्छ’ मियाँ बताउँछन् ।

हेर्नुहाेस् भिडिओ :

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७