काठमाडौं । नेपाल–भारत खुला सीमा संवाद समूहले खुला सीमा र साहित्य विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
सोमबार संवाद समूहको आयोजनामा मित्रराष्ट्र भारतको बिहारस्थित दरभंगाको श्यामा माइ मंन्दिर माधवेश्वर परिसरमा खुला सीमा र साहित्य विषयको अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा नेपाल भरतको पौराणिक सम्बन्ध, बेटिरोटीको सम्बन्धदेखि त्रेता युगमा राम जानकीको विवाहसम्मको चर्चा भएको थियो ।
यसै क्रममा नेपाल–भारत खुला सीमा सम्वाद समूहका अध्यक्ष राजीव झाले नेपाल–भारत खुला सीमा नियन्त्रणको नाममा नेपाल र भारतका सरकारले अनाहक रुपमा सीमान्चलमा बसेको नेपाली तथा भारतीय नागरिकलाई दुःख दिन खोजेको बताएका थिए ।
अध्यक्ष झाले साहित्यकारहरुलाई आफ्नो लेखनी, कविता, गीत, संगीत, आर्टिकल, ड्रामा लगायतको रचना नेपाल–भारत खुला सीमा नै दुबै देशको लागि बरदान रहेकोले कलम चलाउन आग्रह गरे ।
‘दुबै तर्फको इपिजीमा भएको सदस्यहरु विद्वान हुनुहुन्छ तर सीमामा बस्ने आम मानिसभन्दा सीमाको बारेमा बढि बुझ्नु हुन्न’ उनले भने, ‘सीमामा हुने चोरी तस्करी बाट २÷३ प्रतिशत व्यक्ति मात्र लाभान्वित भैरहेको तर बदनाम पुरै सीमान्चलबासी भइरहेको प्रति सचेत हुनुपर्छ । एक अर्काको देशको बिरुद्ध कुनै प्रकारको अपराधिक गतिविधि चोरी तस्करी देखियो या कुनै संकास्पद व्यक्ति देखियो भने तुरुन्त नजिकको प्रहरीलाई खबर गर्न आग्रह गर्दछु ।’
साहित्यकार एवं कवि चन्द्रमोहन झा परबाको अध्यक्षतामा भएको उक्त कार्यक्रम नेपाल–भारत खुला सीमा संबाद समूहका केन्द्रीय अध्यक्ष राजीव झाको विशेष उपस्थिति तथा मैथिली अभियानकर्मी शिक्षा प्रेमी बैद्यनाथ झा बैजुको प्रमुख आतिथ्यता रहेको थियो ।
नेपालबाट लगेको रुद्राक्षको बोट काली मंन्दिरको परिसरमा बैधनाथ झा बैजु र संस्थाको अध्यक्ष राजीव झाले संयुक्त रुपमा रोपेका थिए ।
सोही क्रममा मैथिली अभियानी बैद्यनाथ झा बैजुले नेपाल भारतको सम्बन्ध कसैले बिगार्न नसक्ने बताउँदै नेपाल र भारत बन्नु भन्दा पहिलेको सम्बन्ध भएको जिकिर गरेका थिए ।
कार्यक्रममा डा गोपाल जी बाबू, प्रो चन्देश्वर झा, डा अरुण कुमार सिंह, डा सुनिल कुमार चौधरी, चौधरी हेमन्त राय, गिरिधारी जी, डा दुर्गा नन्द झा, पुजारी बौवाजी लगायतका वक्ताहरुले नेपाल भारत एक अर्काको पुरक रहेको बताए । कार्यक्रमको संचालन एभिन्युजकर्मी एबं साहित्यकार सुजीत झाले गरेका थिए ।
भारत नेपालको बिषयमा नेपालका लेखक चन्द्रकिशोर, अयोध्यानाथ चौधरी, राजेन्द्र बिमल, भारतको लेखक बिभूति आनन्द, प्रदिप बिहारी, रामबृक्ष बेनिपुरी, हरेन्द्र हिन्कर लगायतले कलम चलाए पनि त्यो पर्याप्त नरहेको बताउँदै आगामी दिनमा अझ प्रभावकारी रुपमा कमल चलाउनुपर्ने आवश्यकतामा जोड दिइएको थियो ।