• २०८३ असार १
  • 2026 June 15, Monday

डेङ्गु सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न एमालेको माग

काठमाडाैं । नेकपा (एमाले)ले डेङ्गु सङ्क्रमणको रोकथाम र नियन्त्रण गर्न सरकारसँग माग गरेको छ ।

पार्टी केन्द्रीय सचिव तथा स्वास्थ्य तथा जनसङ्ख्या विभागका प्रमुख योगेश भट्टराईले विज्ञप्ति जारी गर्दै डेङ्गु सङ्क्रमणका अवस्था जटिल बन्दै गएको भन्दै रोकथाम र नियन्त्रण गर्न सरकारसँग माग गरेका हुन् ।

विज्ञप्तिमा उनले तीनै तहका सरकारलगायत विभिन्न सरकारी/गैरसरकारी निकायकाबीचमा समन्वयात्मक परिचालन, सिटामोललगायतका औषधिको सहज उपलब्धताको माग गरेका छन् ।

लामखुट्टे नियन्त्रणका लागि समुदायस्तरको परिचालन, बिरामीको पहिचान र परीक्षणलाई व्यापक र सहज बनाउन, अस्पतालको सेवा विस्तार गर्न, जनशक्ति र बजेट थप गर्न समेत उनले आग्रह गरे ।

नेता भट्टराईले देशव्यापीरुपमा फैलिएको डेङ्गु रोगका कारण उत्पन्न स्वास्थ्य प्रकोपका सम्बन्धमा पार्टीको ध्यानाकर्षण भएकोसमेत जनाए ।

पछिल्लो तथ्याङ्कअनुसार १७ हजार पाँच सय ९४ जना प्रभावित र २१ जनाको निधन भएको छ । डेङ्गु रोगको फैलावटको तुलनामा सतर्कता, नियन्त्रण र उपचारमा सरकारसँग जुन तहको योजना, कार्यक्रम र सक्रियता हुनुपथ्र्यो त्यसमा सरकार चुकेको उहाँको भनाइ रहेको छ ।

उनले पार्टीका तहगत कमिटी तथा जनसङ्गठन र पार्टी सदस्यलाई समेत डेङ्गु रोग नियन्त्रणमा योगदान गर्न आह्वानसमेत गरेका छन् ।