१ सय ३० जना बालबालिका बराबर २ शिक्षिका, विद्यार्थीलाई पढ्न पालो कुर्नुपर्ने बाध्यता

बझाङ । जवा प्राथमिक विद्यालयमा १ सय ३० जना बालबालिका पढ्ने गर्छन। जुन बझाङको केदार स्युँ गाउँपालिका ९ मा पर्छ । ३ कक्षासम्म रहेको विद्यालयमा न त खानेपानीको व्यवस्था छ, न कक्षाकोठा नै । भवनको अवस्था जीर्ण छ । विद्यालयको छानाबाट वर्षातमा पानी र हिउँदमा शीत चुहिन्छ।

स-साना बालबालिका भुइँमा बसेर पढ्छन् । प्राय: दलित समुदायका बालबालिका अध्ययन गर्दै आएका यो विद्यालय दुई शिक्षिकाले धान्दै आएका छन् । ३ कोठा रहेको विद्यालयमा एउटा कोठामा कार्यालय र अर्का दुई कोठामा विद्यार्थी राखेर पढाइन्छ । विद्यार्थी पढ्नका लागि पालो कुरेर बस्छन् ।

कक्षाकोठाको अभाव भएपछि दुई वटा कक्षा एकै ठाउँमा खप्टेर पढाउने गरिएको छ । कक्षा २ र ३ का विद्यार्थि सँगै राखेर पढाउँदा केही नबुझिने कक्षा ३ मा अध्ययनरत छात्रा लक्ष्मी कामी बताउँछिन् । पाठ्यक्रम फरकफरक हुन्छ तर पनि दुई कक्षाका विद्यार्थी एउटै कोठामा राखिन्छ । अलग बस्न कोठा पुग्दैन । शिक्षक पनि छैनन् । कतिबेला पढ्न पाइन्छ भनेर पालो कुरेर बस्नुपर्छ उनले सुनाइन् ।

विद्यालयमा कार्यरत शिक्षिका मञ्जु विक कोठा अभावका कारण कहिलेकाहीँ विद्यालय छिट्टै छुट्टी दिने गरेको बताउँछन् । एउटै कक्षामा कक्षा २ र ३ का विद्यार्थी राखेर पढाउँदा गुणस्तरीय शिक्षाको कल्पनै गर्न सकिँदैन । एकतर्फ पढाउन खोज्यो अर्कोतर्फका विद्यार्थीले हल्ला गर्छन् । तैपनि, सिकाइ प्रभावकारी हुन्छ कि भनेर शैक्षिक सामग्री प्रयोग गरेर, गृहकार्य दिएर पढाउँदै आएका छौँ ।

विद्यालयका प्रधानाध्यापक आशा सिंह शाही विद्यालयको अवस्थाबारे सम्बन्धित निकायलाई जानकारी गराए पनि समाधान हुन नसकेको बताउँछन् । उनी भन्छन् ‘केही समयअघि पालिकाले स्वयम्सेवक शिक्षक उपलब्ध गराएको थियो । तलब कम भएको भन्दै उनी विद्यालय छाडेर भारत गएपछि थप समस्या भएको छ । विद्यालयको भौतिक संरचनाका बारेमा हामीले वडाबाट निर्वाचित भएका सबै जना प्रतिनिधिदेखि गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, अन्य कर्मचारीहरुलाई पटक पटक जानकारी गराइसकेका छौँ । सुनुवाइ हुनसकेको छैन। काम विशेषले एक शिक्षिका नआउँदा विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आउने उनले बताए।

विद्यालयको नाजुक अवस्था देख्दा निक्नै दुस्ख लाग्ने स्थानीय बताउँछन् । स्थानीय गेडे कामी भन्नुहुन्छु विद्यालयको भवनको माग गरेको वर्षौँ भयो । कसैले पनि हाम्रो आवाज सुनिदिएको छैन । सबै विद्यार्थीहरुलाई एउटै कक्षामा राखेर पढाउनु परेको छ । चन्दा सङ्कलन गरेर विद्यालयमा केही काम गरौँ भने त्यो पनि सम्भव छैन।

केही समय अगाडि केदार स्युँ गाउँपालिकाका अध्यक्ष गणेश बहादुर बोहरा, उपाध्यक्ष मनिसा धामी र प्रमुख प्रशासकीय अधिकृत पदम उपाध्यायसहितको टोलीले विद्यालयको स्थलगत निरीक्षण गरेको थियो ।

गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले विद्यालयको निरीक्षण गरेको र तत्काल पालिकामा भवन निर्माणका लागि रकम नरहेको तर केही समयभित्रै बजेट विनियोजन गर्नेगरी काम अघि बढाइएको बताएका छन् । तत्काल समस्या समाधानका लागि पालिकाबाट केही रकम विद्यालयलाई विनियोजन गरिने अध्यक्ष बोहोराले बताए । शिक्षक उपलब्धताका लागि प्रक्रिया अघि सारिसकेको र केही दिनभित्रै शिक्षक विद्यालयमा पठाइने उनले बताए ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१