राज्यले व्यवस्थापन गर्न नसकेकाे कर्णाली

जति लामो कर्णाली नदी छ त्यति नै धेरै लामो र शृंखलाबद्ध कर्णालीको वास्तविक इतिहास छ भन्छन् ‘नेपालभित्रको कर्णाली’ का लेखक आदरणीय क.नगिन्द्र शाही (नेशनल) ।

करिब ६५० वर्ष अघि विशाल र शक्तिशाली राज्यको रूपमा चिनिएको ‘जुम्ला राज्य’ आर्थिक हिसाबले पनि सम्पन्न र व्यवस्थित भएकाे पाइन्छ । वि.सं. १४०९ सालदेखि जुम्ला राज्य विभिन्न ब्यक्तिका मोहका कारण फरक-फरक राज्यमा विभाजित भइ पछि आएर बाइसे-चाैबिसे राज्यमा परिणत भएको इतिहास छ ।

पछि मुगु, हुम्ला, जुम्ला, कालिकोट र डोल्पाका अठार दरामा फैलिएको भूभाग जुम्ला राज्यमा सीमित हुन पुगेको देखिन्छ । जसलाई कर्णाली भन्ने गरेको पाइन्छ । यहाँ विभिन्न माैसम अनुसारको बाली धान, मकै, कोदो, जौ, फापर, कागुनूलगायत उत्पादन हुने गरेकाे छ । कर्णालीका भूभागमा माैसमअनुसारका फलफूल पनि प्रशस्त हुने गर्दछन् । यहाँका उर्वर माटाेमा विभिन्न किसिमका दाल तथा तरकारीहरुमा सिमी, मास, गहत, केराउ, मुला, चोतो, फर्सीलगायत पनि उत्पादन हुने गरेकाे छ ।

प्रसस्त मात्रामा पाइने अनेक थरीका घाँस, लेकका मनमोहन हरियाली पाटन र फाँट भएकोले सबैभन्दा बढी भेडा, बाख्रा, गाई, भैंसीलगायत अन्य जनावर जति पाल्दा पनि फरक नपर्ने कर्णाली अन्य भूभागकाे तुलनामा ठूलो पनि छ । इतिहासमा याे भूभाग जनसंख्याकाे हिसाबले पनि ठूलाे रहेकाे पाइन्छ । इतिहासमा ‘जुम्ला राज्य’ शक्तिशाली सेना र धनी राज्यकाे रुपमा रहनुकाे कारण पनि यसलाई लिन सकिन्छ ।

जब पृथ्वीनारायण शाहका माइला छोरा बहादुर शाहले जुम्ला राज्यमाथि नजर लगाए तब तत्कालीन जुम्ला राज्यकाे विनास भएकाे इतिहास छ । वि.सं. १८४६ मा बडा दशैँको समय पारेर काजी शिवनारायण खत्री र सरदार प्रवल रानाकाे पल्टनले जुम्ला राज्यकाे उत्तरी भूभागमा आक्रमण गरी पटक-पटक ‘जुम्ला राज्य’लाई आफ्नो अधिनमा लिए । उनीहरुले राज्यलाई तहस-नहस पारी त्यहाँका वासिन्दालाई दासीको जीवन जिउन बाध्य बनाए । भएका सबै खर-खजाना आफ्नो नाममा र बाँकी रहेको सबै सम्पत्ती गोर्खाली सैनिकहरुलाई लिन भनि कर्णालीका जनतालाई गरिबी र भाेकमरीमा पारेकाे पाइन्छ ।

त्यही समयदेखि हरेक सेवा र सुविधाबाट पछाडि पारिएको कर्णाली अहिले पनि उपेक्षित छ । देशमा बहुदलीय व्यवस्था आयो, तर यहाँकाे अवस्था जस्ताकाे तस्तै । देशमा लोकतन्त्र/गणतन्त्र पनि आयाे तर कर्णालीलाई राज्यले सौतेनी व्यवहार र उही पुरानै बहादुर शाहको नजरले हेरिरह्याे, सुधारकाे पहल केही गरेन । कर्णालीमा रहेको अतुलनीय सम्पदाको सदुपयोग हुने भए पनि कर्णालीमात्र नभइ पुरै नेपाल सम्पन्नशाली बन्न सक्छ । कर्णालीमा त्याे चिज छ जसले नेपाललाई समृद्धि र विकासकाे बाटाेमा ल्याउन सक्छ ।

यहाँ नेपालकै सबैभन्दा ठूलो कर्णाली नदी र यसमा मिसिएका स-सानानदीहरू प्रशस्त छन् । जसबाट हजारौँ मेघावाट विद्युत उत्पादन गर्न सकिन्छ । यहाँ बिजुली उत्पादन गर्ने र विदेशमा बेच्ने हाे भने पनि मनग्य आम्दानी गर्न सकिन्छ ।

कर्णालीका मनमोहक हरियाली पाटनहरू, ‘स्वर्गको टुक्रा’ उपनाम दिइएकाे मुगुको रारा ताल, डोल्पाको से-फोक्सुन्डो ताल, कालिकोटको पचाल झरना, मानसरोवर, जुम्लाको चन्द्रनाथ, डोल्पाको त्रिपुरासुन्दरी, पाण्डव गुफा, योगी नरहरीनाथको जन्मस्थान, छायानाथ, नाभीस्थानको जन्मस्थल कालिकोट, सुर्खेतको बुलबुलले ताललगायत कैयौं रमणीय स्थानहरु छन् जसलाई सही र आधुनिक तवरमा व्यवस्थित गर्न सके सजिलाे गरी आम्दानी गर्न सकिन्छ ।

यी पर्यटकीय स्थलसम्म पुग्न सक्ने राम्राे बाटाेमात्र बनाउन सकियाे भने पर्यटककाे संख्या बढ्ने निश्चित छ । अहिले नेपालमा विदेशी पर्यटकमात्र हाेइन । नेपालीहरु पनि एक अर्काे ठाउँमा, घुमफिरमा निकै रमाउन थालेका छन् । नेपालकाे पर्यटकीय स्थलहरुमा आन्तरिक पर्यटककाे चहलपहल पनि बढीरहेकाे छ । कर्णाली समृद्ध बनाउन र देशकाे अर्थतन्त्र मजबुत बनाउन कर्णालीका पर्यटकीय स्थलकाे विकास अनिवार्य छ ।

नेपाली खस-आर्य भाषाको उद्गम स्थल जुम्ला (हालको सिञ्जा) राज्यकै लापरवाहीको कारण विश्व सम्पदा सूचीमा अटाउन सकेकाे छैन । कर्णालीको डोल्पा, हुम्ला र मुगुका अधिकांश पाटनहरूमा पाइने विश्वकै एकदमै बहुमूल्य जडिबुटी यार्सागुम्बा वैज्ञानिक तवरको सुत्रात्मक तरिकाले खेती गर्न सके विश्वकै धनी राष्ट्रको रूपमा चिनिने अवसर हुन्थ्यो । अन्य विभिन्न प्रकारका बहुमूल्य जडिबुटी पाँचऔँले, जटामसी, पाखनवेद, पदमलाल, लसुन, तितो, कटुको, सेतो चिनी, सुगन्धवाल, टिमुर, निरमसीलगायतका सयाैँ प्रजातिका जडिबुटी संकलन गरी विभिन्न रोग अनुसारको औषधि आफ्नै देशमा बनाउन सके करोडौँ धनराशी भित्र्याउन सकिन्थ्यो ।

यसैगरी, यहाँका ठूला बाेटबिरुवाहरुबाट पनि लाभ लिन सकिरहेकाे छैनाैँ । सल्ला, धुपी, लालीगुराँस, चिमालीलगायत पहाडी र हिमाली भेगमा पाउने विभिन्न प्रजातिका बाेटबिरुवा पनि आम्दानीकाे स्राेत बन्न सक्छन्, यसबाट पनि हामीले आजसम्म लाभ लिन सकिरहेका छैनाैँ ।

कर्णालीमा ठूला-ठूला पाटन र घना जंगल छन् जहाँ जंगली र घर पालुवा जनावर बस्न एकदम अनुकुल वातावरण छ । यसकाे संरक्षण, संवर्द्धन गर्न राज्यले सकिरहेकाे छैन । यहाँका जंगलमा बाघ, भालु, हिउँ चितुवा, घोरल, मृगलगायत जंगली जनावरकाे संरक्षण गरी विश्वमा उदाहरण प्रस्तुत गर्न सकिन्छ । यहाँका सुन्दर पाटनहरुमा भेडा, च्याङ्ग्रा, बाख्रालगायतका मासुजन्य जनावर पालेर लाखाैँ आम्दानी गर्न सकिन्छ ।

अहिले पनि यहाँ गाई, भैँसी, चाैँरीकाे दुधबाट बनेका विभिन्न परिकारकाे बजारीकरण गर्न सकिएकाे छैन । माैरीपालनकाे लागि एकदम उपयुक्त स्थान भए पनि यहाँ आधुनिक तरिकाले माैरी पालन गर्न सकिएकाे छैन । कर्णालीको अर्गानिक स्याउ, आलु, ओखर, आरू, मेवालगायत कैयौं जंगलमा पाइने विभिन्न जातका फलफूलहरुको बजारीकरण नहुँदा रूखमै सड्ने र कुहिने गरेको पाइन्छ । जसकाे व्यवस्थापन गर्न नसक्नु राज्यको ठूलो भुल हाे ।

-लेखक धामी अनेरास्ववियु त्रिभुवन विश्वविद्यालय जिल्ला कमिटीका सह-सचिव हुन् ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७