
काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेविरुद्ध परेको उजुरीमाथि छानविन गर्न गठित समितिको म्याद पुनः थप भएको छ । महानगरले ८ पुसमा पाण्डेमाथि छानबिन गर्नका लागि समिति गठन गरेको थियो ।
उक्त समितिले १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएपनि पर्याप्त समय नभएको भन्दै २२ पुसमा छानबिन समितिको म्याद पहिलो पटक थप भएको थियो । दुई साता थप भएको म्याद सोमबार सकिएको हो ।
पाण्डेमाथि एक महिला नगर प्रहरी हवल्दारले आफूमाथि दुर्व्यवहार भएको भन्दै ९ मंसिरमा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र उपमेयर सुनिता डंगोलसमक्ष निवेदन दिएकी थिइन् ।