• २०८३ असार १४
  • 2026 June 28, Sunday

अमेरिकामा बस्ने नेपालीको फेसबुक ह्याक गरी ठगी गर्ने एक जना पक्राउ

काठमाडौं । अमेरिकामा रहेका नेपालीको फेसबुक ह्याक गरी ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार पोखरा – १९ लामाचौरका २३ वर्षीय आशिष परियारलाई प्रहरीले पक्राउ गरेको हो।

परियारले अमेरिकामा बस्ने एक जना नेपालीको फेसबुक ह्याक गरी एक जना साथीलाई सहयोग गर्न भन्दै म्यासेज पठाएका थिए।

उनले सहयोग रकम जम्मा गर्न भन्दै नेपालकै बैंकको खाता नम्बर पनि दिएका थिए।

ती साथीले उनले दिएको खातामा ५० हजार रुपैयाँ मोबाइल बैंकिङबाट पठाइदिएका थिए।

पैसा पठाएको तीन-चार दिनसम्म उताबाट कुनै प्रतिक्रिया नआएपछि के भएछ भनेर साथीका आफन्तलाई सम्पर्क गर्दा फेसबुक ह्याक भएको तथ्य खुलेको थियो।

त्यसपछि पीडितले ब्युरोमा निवेदन दिएका थिए। जिल्ला अदालत काठमाडौंबाट दुई दिनको म्याद लिएर परियारमाथि थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।