अधुरो आशा

हतार–हतार कार्यालय जाँदै थिएँ । जमल पुग्दा बाटोमा एक्कासी पछाडीबाट कसैले ‘माया…, माया…’ भनेर बोलाएको सुनेँ । अरु कसैलाई बोलाएको होला भनेर नसुनेझैँ अघि बढेँ । फेरि ‘ओई माया सुनन…’ भनेपछि आफैँलाई होला लागेर फर्केर हेरेँ । रोशनी रैछे । उस्ले हतार–हतार अगाडी आएर भनि, ‘ओइ कस्ती मान्छे रैछे, यतिबेर बोलाए अझै नसुनेकोझैँ गरेर हिँडिरहेकी छ ।’

अनि मैले पनि खुसी हुँदै भनेँ, ‘हेर न यार, मलाई तँ होलिस्, मलाई नै बोलाएकी होलिस् भन्ने के थाहा । म त अफिस जान हतार–हतार हिँडिरेकी थिएँ । यो अजनवी शहरमा यसरी मलाई नाम लिएर बाटोमा बोलाउने को होला र भन्ने लाग्यो नि त ।’

उसले हाँस्दै भनि– तँ काठमाडौं बस्न लागेको यत्तिका बर्ष भयो अनि यहीँ काम पनि गर्छेस् धेरै–थोरै मान्छे चिनेकी छस् तलाईँ के अजनवी हुनु ? बरु मलाई हो, यो शहर अजनवी । अनी मैले पनि हाँस्दै भनेँ– हो हो, ल ठिकै छ नि त । मैले उसलाई सोधेँ– तँ काठमाडौं कहिले आएकी ? कति दिन बस्छेस् ? कहाँ बसिछेस् ? उसले भनि– म अब यतै बस्ने गरेर आएकी अहिले सीताकोमा बसीराछु । अब बिस्तारै कोठा खोजेर बस्नु पर्ला । मेरो अफिस समय भएकाले मैले उसलाई भनेँ– ‘ओइ तँ सँग भेट भयो खुसी लाग्यो अहिले मलाई हतार छ अफिस छुट्टी भएपछि साँझ तलाईँ भेट्छु, धेरै कुरा गर्नु छ तँसँग । उसले ल साँझ भेटौँला भनि । त्यसपछि हामी छुट्टियौँ ।

हामी कलेजमा हुँदा मिल्ने साथी भए पनि पछिल्ला केही वर्षहरुमा मेरो उसँग खासै कुरा हुन पाएको थिएन तर आज एक्कासी बाटोमा भेट्दा खुसी लाग्यो अनि साँझ उसँग भेट्ने कुराले कतिबेला साँझ होला भन्ने लागिरह्यो । दिउँसो कार्यालयमा काम गर्दा पनि रोशनी काठमाडौं आएकी अनि उसले काम खोज्दैछु भनेका कुरा मेरो मनमा खेलिरह्यो ।

उसलाई कामको आवश्यकता रहेछ । उसको एकदम मिल्ने साथी थियो राज । सयौँलाई काम दिन सक्ने थियो राज । तर उ यसरी काम खोजिरहँदा राजले काम दिन सकेन होला त रोशनीलाई । की रोशनीले नै राजलाई काम खोज्दिन आग्रह गरिन होली ? राजले थाहा नपाएर होला उसले काम न खोज्देको ? या राजलाई रोशनीले अर्काकोमा गएर काम गरेको मन नपर्ने पो हो की त्यही भएर उसले रोशनीलाई सहयोग नगरेको हो की ? यस्ता कुरा दिनभर मनमा खेलिरहेका थिए ।

यसअघि भएको कुरामा रोशनीले भनेकी थिई, ‘हेर न माया राजले मलाई तिमी जब नगर बरु बिजनेस् गर म के सहयोग गर्न सक्छु गरौँला भन्छ । यार, के बिजनेश गर्ने होला ? मलाई केही आइडिया देऊ न । मैले उसलाई होस्टल अथवा फेन्सी पसल गर्न सुझाव दिएकी थिएँ । उसले पनि हस भनेकी थिई । अनि उ होस्टलको खोजीमा लागेको पनि मलाई जानकारी थियो । तर त्यही बीचमा कोभिड महामारी फैलियो । त्यसपछि उसले कोभिडका कारण होस्टल नखोलेको भन्थी ।

आज करिब दुई वर्षपछि फेरि उ काम खोज्दैछे । ‘राजसँगको सम्बन्धमा दरार आएको पो हो की’ मेरो मनमा शंका उब्जियो । राज एक सफल उद्यमी थियो । उसलाई सानो–सानो कुराको मतलब नभएर रोशनीलाई सहयोग नगरेको पो हो, की ? यी र यस्ता यावत् प्रश्न मेरो मनमा आइरहे ।
यी कुराहरु मनमा खेलाउँदा खेलाउँदै कार्यालय छुट्टी भयो । अनि रोशनीलाई फोन गरेँ, ‘ओई म फ्री भएँ, त्यही ठाउँमा भेटौँ है ।’ उसले हस् म त्यहाँ आउँछु भनि । हामी बसन्तपुरको एक कफी सपमा भेट्टियौँ । उसलाई मैले भनेँ, ‘ल भन् अरु के छ ?’

के हुनु यार् एक ठाउँमा काम गरिरहेको थिएँ । तर त्यहाँ भनेको जस्तो भएन । अर्को ठाउँमा काम बुझिरहेको छु । आज पनि इन्टरभ्यू छ । बोलाउँछु भनेका थिए । कति बेला फोन गर्लान् भनेर कुरेर बसेको छु । उसले यति भन्दै गर्दा उसको मुहारमा पीडा छचल्किरहेको थियो । अनि मैले भनेँ, ‘ओई अनि राजलाई थाहा छैन र तँ यहाँ जब खोजिरहेको कुरा । सयौँलाई जब लगाइदिने राजले तलाई पनि त लगाइदेला नि ?’

उसले म तिर हेरेर भनि हेर् माया मैले राजलाई नभनेको होइन । तर राजले मलाई कहिल्यै सहयोग गरेन । उसले गर्न चाहेन या उसको नजरमा म काम गर्न सक्ने थिइनँ । त्यो त थाहा भएन तर अहँ राजले मलाई केही सहयोग गरेन । आफ्नै चाहानाले मैले एउटा अफिसमा कामको लागि इन्टरभ्यू दिएर फर्किँदा राजको कल आएको थियो । त्यो कल ‘अनएक्सपेक्टेड’ थियो । उसले के गरिरहेकी छ्यौ, भनेर सोध्यो । मैले केही गरिरहेको छैन भनेँ । उसले ए… मात्रै भन्यो ।

मलाई आशा थियो, रोशनी काम गर्ने हो ? भनेर सोध्ला भन्ने । तर अहँ त्यसदिन पनि उसले आफ्नो गुनासो सुनाएर फोन राख्यो । अनि मलाई उसको इखले भएपनि केही न केही काम गर्न मन लागिरहेको थियो । भगवानसँग प्रार्थना पनि गरेँ । संयोगबश, मैले इन्टरभ्यू दिएको कम्पनीबाट काम पनि मिलयो । तर त्यहाँ पनि पछिल्लो दुई महिनादेखि पारिश्रमिक पाइरहेको छैन ।

अब त आफूसँग भएको बचत पनि सकिन लाग्यो । त्यहाँबाट राजीनामा दिएर अर्को ठाउँमा काम खोज्न हिँडिरहेको छु । भनेको जस्तो काम पनि पाइरहेको छैन । अनि मैले सोधेँ, राजले चाहेमा तँलाई काम दिन सक्छ नि हैन ? आजभोलि राजसँग तेरो भेट भएको छैन ?

उसले हाँसेर जवाफ दिई, हेर विगत डेढ वर्षसम्म त कति सम्पर्क गर्न खोजेँ तर कहिल्यै भेट भएन । उसलाई कहिलेकाहीँ अति माया लागेको बेलामा सम्झन्थेँ । सामाजिक सञ्जालमार्फत पनि टेक्स्ट लेखेर पठाउँथे । मेसेज त हेर्थ्यो तर कहिल्यै जवाफ दिएन । भगवानसँग पटक–पटक प्रार्थना पनि गरेँ । उससँग भेट होस् भन्ने कामनाले कहिल्यै मस्जिद नगएकी म गुरु भेटेर मस्जिद पनि गएँ । हेरेक मन्दिरमा गएर पूजा गरेँ । त्यो बेला कुनै यस्तो समय थिएन मैले उसलाई याद नगरेको । उसको बारेमा कहिल्यै पनि नकारात्मक सोच आएन ।

मेरो मेसेज ‘इग्नोर’ गरिरहेको राजलाई एक दिन ‘अलबिदा’ लेखेर अब कहिल्यै नबोल्ने निर्णय लिएँ । तर त्यही रात एउटा सपना देखेँ । राज बिरामी परेको थियो । उसलाई निकै गाह्रो भएको त्यो दिनको सपनापछि मैले दिदीलाई आफूले देखेको सपनाबारे भनेँ । राज साँच्चै बिरामी पो परेको छ कि ? म आत्तिएँ । दिदीले मलाई बिरामी भएको भए थाहा हुन्थ्यो होला भनेर सम्झाउनुभयो । तर मेरो मनले राजको चिन्ता गरिरह्यो । मैले भगवानसँग प्रार्थना गरिरहेँ ।

केही समयपछिको कुरा हो, राजको फोन उठ्दैन भन्ने थाहा थियो । यति हुँदाहुँदै पनि मैले फोन गरेँ । उसले फोन त उठाएन केही समयपछि कलब्याक गर्यो । त्यतिबेला मलाई संसारको सबै खुसी मिलेको भान भइरहेको थियो । फोन उठाएर मैले तिमीलाई भेट्नु छ भनेँ । खै, उसलाई के भएको थियो उसले हुन्छ भोलि भेटौँ भन्यो । मलाई कहिले भोलि होला र राजलाई भेट्न जाऔँ भइरहेको थियो । त्यो रात मैले छटपटी र बेचैनीमा बिताएँ । अर्को दिन कार्यालय समयपछि राजलाई भेट्न गएँ ।

राज हामीले भेट्ने योजना बनाएको ठाउँको केही अगाडीसम्म मलाई लिन आएको थियो । जब मैले उसलाई देखेँ म स्तब्ध भएँ । केही बोल्नै सकिनँ । उसले भेट्न बोलाउँदा म कति खुसी भएको थिएँ । त्यो शब्दमा बयान गर्न सक्दिनँ ।

राजले मलाई ‘केही बोल्दिनौ’ भनेर प्रश्न गर्‍याे । म अवाक् भएँ । हामी एउटा कफी शपमा गएर बस्यौँ । त्यहाँ राजले आफ्नो कुरा सुनाउन थाल्यो । मैले एक टकले राजलाई हेरिरहेँ । उसको फेसको चमक उडेको थियो । मलाई उसलाई के भएको रहेछ जान्न मन लागिरहको थियो । त्यो समयमा पनि उ बिजी थियो । मेरो मेसेजको प्रतिक्रिया नदिने राज त्यतिबेला मोबाइलामा र ल्यापटपमा झुण्डिरहेको थियो । मलाई ती ल्यापटप र मोबाइलसँग आरिश लागिरहेको थियो । एकै शहरमा भएर पनि उसलाई मैले डेढवर्ष पछि भेटेको थिएँ । तर ती ल्यापटप र मोबाइल राजसँग नजिक थिए । पछि कुरा गर्दै जाँदा मैले सोधेँ, अनुहार निन्याउरो देखिरहेको छु, के भएको छ ? सबै ठीक छ नि ?

उसले भन्यो, ‘मेरो त प्यानक्रियाजमा ट्युमर भएर तनाव छ । कति चेक गराएँ तर पनि पहिलेकै ब्यथा बल्झियो ।’ ऊफ् मेरो मनमा के बित्यो त्यो जवाफले, त्यो मलाई मात्र थाहा छ । म जे नहोस् भन्ने चाहन्थेँ त्यही भएको जस्तो लाग्यो । तर मैले उसको अगाडि केही देखाइनँ । बरु आफ्नै गुनासो पोखिरहेँ ।

केही समय बसेर हामी छुट्टियौँ । जब म घरमा आएँ उसलाई भेटेर खुसी भएको सबै कुरा बिर्सिएँ । मेरो आँखाबाट अनवरत आँसु झरिरह्यो । आफैँलाई सम्हाल्दै भगवानसँग प्रार्थना गरिरहेँ, हे भगवान उस्लाई केही नहोस् । उसको रोग सन्चो होस् भनेर । उसले बताए अनुसारको रोग के हो ? के कारणले लाग्छ ? के गर्नु पर्छ ? भनेर गुगल गरेर हेरेँ । त्यसपछि झन् पीडा थपियो । तसदिनदेखि बिहान एक माला जप गर्न थालेँ उसको स्वास्थ्यको लागि ।

उसका लागि पशुपतिनाथ मन्दिरमा गएर पनि प्रार्थना गरेँ । उसको लागि मैले एउटा आध्यात्मिक किताब पनि किनेको थिएँ । उसलाई त्यो किताब दिन ब्यग्र प्रतीक्षा गरिरहेको थिएँ । मलाई लाग्यो किताब दिने बहानामा भेट्न खोजेको हो की भनेर नराम्रो मान्ने पो हो की जस्तो लाग्यो । मैले उसलाई राम्रोसँग चिनेको थिएँ । म उसलाई डिस्टर्व गर्न चाहान्न थिएँ । उसलाई एक मेसेज गरेर किताब पढ्न र भगवानको प्रसाद ग्रहण गर्न आग्रह गरेँ र उसको ठेगानामा कुरियर गरेर किताब पठाएँ ।

टेबलमा रहेको पानी पिएर आँखाभरी आँसु बनाउँदै उसले फेरि भनि ‘हेर न मान्छेको मन न हो उ बिरामी भएको सुनेदेखि मलाई झनै उसको वरीपरी भएर काम गर्न मन छ । उसको कार्यालयमा सानोतिनो जे पोष्टमा भए पनि काम गर्न मन छ तर उसले बुझ्दैन के गर्नु ?’ यति भन्दै गर्दा उसको आँखामा टिलपिल भएको आँसु खस्यो त्यसलाई पुछ्दै फेरि उसले भनि ‘उसलाई मैले यो कुरा नभनेको होइन भनेको छु सायद उस्ले मलाई कहिल्यै आफ्नो ठानेको भए गर्थ्याे होला तर गरेनँ । तर पनि भगवानसँग प्रार्थना गर्छु फेरि पनि । कुनै समय उसको वरीपरी रहेर काम गर्न पाउँ ।’

मैले पनि प्रार्थना गर्छु उसकाे मनाेकामना पूरा हाेस् ।

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७